सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल राष्ट्र बैँक धनगढी सहित सुदूरपश्चिमका १० स्थानबाट नयाँ नोट सटही हुँदै

२०७६ असोज ११, १०:३० कमल सावद

नेपाल राष्ट्र बैँक धनगढी सहित सुदूरपश्चिमका १० स्थानबाट नयाँ नोट सटही आजदेखि सुरु गरिएको छ। ९ वटा जिल्लामा रहेका राष्ट्र बैंकका नोट कोष र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीबाट गरी १० स्थानबाट नोट सटही सुरु गरिएको हो। प्रदेशका नौँ जिल्लामा रहेका विभिन्न वाणिज्य र नेपाल बँैक लिमिटेडमा राष्ट्र बैंकको नोट कोष रहेको छ।

तर प्रदेशका अन्य बैँकहरुले भने नयाँ नोट साट्न पाउने छैन्। सुकिला अर्थात प्रयोगमा आएका तर सफा नोट मात्र अन्य बैँकहरुले सेवाग्राहीलाई दिन सक्ने छन्। पहिलो दिन धनगढीमा नोट साट्ने सेवाग्राहीको भिडभाड थियो। कैलालीको धनगढी सहित टीकापुर, दार्चुला, बझाङ, बैतडी, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुरमा रहेका राष्ट्र बैँकका नोट कोषबाट सटही भईरहेको राष्ट्र बैँकले जनाएको छ।

नेपाल राष्ट्र बैँक धनगढीका प्रमुख निश्चल अधिकारीले सुदूरपश्चिमका नौँ जिल्लामा नयाँ नोट सटहीको सुविधा रहेको बताए।  सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा बैँकहरुको सेवा विस्तारको चरणमा छ। तर राष्ट्र बैँकले अन्य बैँकलाई नयाँ नोट सटहीको अधिकार भने दिएको छैन्।

त्यसैले कैलाली बाहेक अन्य जिल्लामा नोट सटहीका लागि अनिवार्य रुपमा जिल्ला सदरमुकाम पुग्ने पर्ने बाध्यता बनेको छ। नोट सटहीका लागि राष्ट्र बैँक धनगढी पुगेका गौरीगंगा नगरपालिकाका ६ का टेकबहादुर कुंवरले नोट सटहीका लागि राष्ट्र बैँकमा आएको सुनाए। अन्य बैँकबाट पनि नयाँ नोट पाइए सहज हुने उनले बताए। 

असोज १७ गते सम्म राष्ट्र बैंकले नयाँ नोट दिने छ। एक व्यक्तिले  १८ हजार पाँच सय रुपैया सम्म पाउने छन्। ५, १०, २०, ५० र एक सय रुपैयाँ दरका नोट साट्न मिल्ने राष्ट्र बैँकले जनाएको छ। नोट सटही सुरु भएको पहिलो दिन पनि धनगढी स्थीत राष्ट्र बैंकमा भने भिडभाड थियो। धनगढीका स्थानीय हरिचन्द्र कठायतले भिडभाडका कारण नोट साट्न नपाएको बताए। 
नयाँ नोट सहित खुद्राका लागि पनि धनगढीमा नयाँ काउण्टर राष्ट्र बैँकले सञ्चालन गरेको छ। नयाँ नोटका लागि धनगढीमा लाईनमा लाग्नुपर्ने बाध्यता रहेको छ। धनगढीमा पहिलो दिन तीन काउण्टर मार्फत नोट सटहीको व्यवस्था रहेको नेपाल राष्ट्र बैँक धनगढीका प्रमुख निश्चल अधिकारीले बताए। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस