सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन दिवसमा तीन नयाँ गन्तब्य घोषणा

२०७६ असोज १०, ०२:०३ खबर संवाददाता

पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ। गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो। 

धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ गन्तब्यका रुपमा घोषणा गरिएको हो।घोषित गन्तव्यलाई वर्षभर विविध पर्यटकीय गतिविधिमार्फत प्रवद्र्धन गरिन्छ।

विश्व पर्यटन दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीन वटै गन्तब्यका प्रतिनिधिलाई शुक्रबार नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरे। हरेक वर्ष नयाँ–नयाँ गन्तब्य बिस्तारका क्रममा यी गाउँ छनोट गरिएको भिटोफका प्रथम उपाध्यक्ष दिपक दाहालले बताए।

शुक्रबार विश्वभर पर्यटन दिवस मनाइदैछ। ‘टुरिज्म एण्ड जब–ए बेटर फूचर फर अल’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइदैछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना भइरहेको बताएका छन्।

पर्यटन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले नविनतम गन्तब्य पहिचान, पूर्वाधार विकास र गन्तब्यको संरक्षण–संवद्र्धनमा ध्यान दिनेसमेत उल्लेख गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस