सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनस्तरबाट धनगढी–स्याउँले सडक ग्रावेलका लागि अभियान सुरु

२०७६ असोज १०, १०:४९ खबर संवाददाता

सरकारी निकाय उदासिन देखिएपछि जनस्तरबाट धनगढी–स्याउँले सडक खण्ड ग्रावेलका लागि अभियान सुरु भएको छ। स्थानीयबाटै रकम संकलन गरी दशैँ अगाडी सडक ग्रावेल गर्ने लक्ष्य सहित अभियान सुरु गरिएको हो।

गोदावरी नगरपालिका वडा नम्वर ८ मझगाउँका स्थानीय भरतविक्रम शाह र सोही ठाउँका हेमन्त मल्लको अगुवाईमा अभियान सुरु गरिएको हो। अभियान अन्तरगत आज सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले ११ हजार सहयोग गरेका छन्।

ग्रावेल गर्ने अभियानका अगुवा शाह र मल्ललाई हमालले आज विहान ११ हजार हस्तान्तरण गरेका हुन्। यस्तै सोही अभियानमा कर्मराज चौधरी र विवेक शर्माले एक ट्रली ग्रावेल, एवी पोजेटिभ देउवाले २५ हजार, दिपेन्द्र भट्टले १० हजार सहयोग गर्ने आश्वासन दिएका छन्।

‘स्थानीय, प्रदेश र संघीय सरकारले धनगढी–दीपायल द्रुत मार्ग अन्तरगतको हसनपुर–स्याउले खण्ड निर्माणमा चाँसो नदिएपछि सडकमा आवातजावत गर्नै मुस्किल भएको छ,’ अभियानका अगुवा शाहले भने, ‘सरकारी निकायको भर परे पनि वेवास्ता भएपछि दशैँ अगाडी ग्रावेल गर्ने लक्ष्य सहित अभियान थालेका हौँ, सबैको सहयोग पाए लक्ष्य पुरा हुने छ।’

यसअघि केही बर्ष अगाडी स्थानीय युवा कविन्द्र पन्तको अगुवाईमा पनि उक्त सडकमा ग्रावेल गरिएको थियो। सडक खण्डमा परेका खाल्डा मर्मत गर्न कुनै निकायले चाँसो नदिएको स्थानीयले गुनासो गर्दै आएका छन्। गोदावरी नगरपालिका वडा नम्बर ७, ८ लगायतको क्षेत्रका जनताको धनगढीसंग जोड्न मुख्य सडक नै धनगढी–स्याउले सडक हो।

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणधिन अवस्थामा रहेकाले धनगढी–स्याउले सडक बढी प्रयोग हुदै आएको छ। धनगढीको हसनपुरदेखि पूर्व–पश्चिम राजमार्गको स्याउले सम्मको १० किलोमिटर सडकमा अहिले सयाँै सवारीका साधनहरु ओहोर–दोहोर गर्ने गरेका छन्। 

संघीय सरकारले विगतमा उक्त आयोजनाका लागि छुट्टै कार्यालय खोलेकोमा अहिले कार्यालय छैन्। अहिले सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई दिईएको छ तर कर्मचारीको व्यवस्था पनि भएको छैन्। 

कमेन्ट लोड गर्नुस