सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मिटर रिडिङ नगरी अनुमानको भरमा विद्युत महसुल संकलन

२०७६ असोज १०, ०७:०९ रोशन भट्ट

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले अनुमानको भरमा ग्राहकबाट विद्युत् महसुल संकलन गर्ने गरेको छ। वितरण केन्द्रमा रहेका मिटर रिडरले घरदैलोमा गएर मिटर रिडिङ नगर्ने भएकाले महसुल संकलनमा अनुमानको भर पर्नुपरेको हो।

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले मिटर रिडिङ नगरी अनुमानका आधारमा कम्प्युटरमा खपत युनिट देखाउँदै बिल असुल्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।

‘लामो समयदेखि अनियमित विद्युत कटौतीको मारमा परेका धनगढी वासीलाई नेपाल विद्युत प्रधिकरणको धनगढी वितरण केन्द्रले तीन महिना सम्म मिटर रिडिङ नगरेर समस्यामा पारेको छ,’ धनगढी उप–महानगरपालिका वडा नम्बर ६ मट्यारिका शिवराज जैशीले भने, ‘तीन महिना सम्म मिटर रिडिङ नहँुदा विल बढी तिर्नु पर्ने समस्या रहेको छ।’

अर्को तर्फ जरिवाना समेत तिर्नु पर्ने हुदा समस्या बढेको उनले बताए। मिटर रिडिङको समस्या सबैभन्दा बढी धनगढी उप–महानगरपालिकाकै वडा नम्बर ६ मट्यारिमा देखिएको छ। अन्य स्थानमा केही घरहरु मात्र छुटेको भएपनि सो वडामा भने तीन महिना सम्म रिडिङ नभएको दावी स्थानीय खड्क बोगटीको छ।

“गतमहिना पनि मिटर रिडिङ नगरिकनै अनुमानको भरमा महसुल बुझाएको थिएँ,” उनले भने, “मिटर रिडिङ नगरी महसुल बुझाउँदा बढी तिर्नुपर्ने बाध्यता छ।” झण्डै ५७ हजार सेवागा्रही भएको धनगढी वितरण केन्द्रले आफ्ना मिटर रिडिङ गर्ने कर्मचारीहरुलाई समयमा व्यवस्थापन गर्न नसक्दा यो समस्या देखिएको हो।

अहिले पनि कुनै कर्मचारी विरामी भएपनि तीन महिना सम्म मिटर नै रिडिङ नहुने गरेको गुनासो सेवाग्रीहरुको छ। यता नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रले यो समस्या धनगढीको मात्र नभई जिल्ला भरिको नै भएको जनाएको छ।

तीन महिना सम्म मिटर रिडिङ नभएको विषय स्वीकार गर्दे अव तत्काल त्यो समस्याको समाधान गर्ने दावी धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र कुमार चौधरीको छ। उनले मिटिर रिडरलाई बोलाएर वास्तविक समस्या बारे बुझ्ने बताए। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस