सुदूर नेपाललाई विश्वसँग जोड्दै

चम्ल्याहा जन्माएकी धनगढीकी खगित्राको परिवारलाई उपचार खर्च जुटाउनै मुस्किल

२०७६ असोज १०, ०६:५० खबर संवाददाता

बुधबार मात्र एकैपटक चार सन्तान जन्माएकी धनगढीकी खगित्रा शाही र उनका शिशुको उपचारमा समस्या भएको छ। चारै सन्तानलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा बाल सघन उपचार कक्ष (एनआईसीयू) मा राखेर उपचार भईरहेको छ।

तिनको उपचार खर्चै कसरी धान्ने भन्ने चिन्ताले खगित्राका श्रीमान पदमवहादुर शाहीलाई पिरोल्न थालेको छ। ‘बच्चाहरूको उपचारमै लाखौं खर्च भइसक्यो। अझै कति खर्च हुने हो,’ उनले भने। ९ महिनै नपुगी जन्मिएका चारै बच्चा कृत्रिम स्तनपानको भरमा बाँचिरहेका छन्। 

एनआईसीयू खर्च एउटै शिशुको दैनिक साढे ४ हजार तिर्नुपरेको बताउँदै उनले अरू उपचार समेत गरी अहिलेसम्म साढे तीन लाखभन्दा बढी खर्च भइसकेको बताए। घर खर्च जुटाउन भारतको दिल्लीमा ल्याब असिस्टेन्टका रूपमा काम गर्दै आएका पदमलाई अहिले उपचार खर्च जुटाउन समस्या भएको हो।

गर्भमा चम्ल्याहा शिशु भएकै कारण पत्नीलाई स्याहार्नुपरेपछि उनी जागिर छाडेर धनगढी आएका थिए। कमजोर आर्थिक अवस्थाका कारण चार सन्तान पाल्न नसकिने ठानेर उनीहरूले गर्भपतनको योजना पनि बनाएका थिए तर आमाको ज्यान थप असुरक्षित हुने भएपछि बच्चा जन्माउनुको विकल्प नभएको भनाई पदमको छ।

खगित्रा भदौ ३१ गते अस्पताल भर्ना भएकी हुन्। त्यसको आठ दिनपछि उनले शल्यक्रियाबाट चम्ल्याहा जन्माएकी हुन्। चारै शिशुको स्वास्थ्य अहिलेसम्म राम्रो रहेको उपचारमा संलग्न चिकित्सक डाक्टर चन्दा कार्कीले जानकारी दिइन्। खगित्रालाई भने बिहीबार आईसीयूबाट जनरल वार्डमा सारिएको छ।

उनीहरुका ६ वर्षकी एक छोरी छन् भने अहिले थप तीन छोरा र एक छोरी जन्मिएका हुन्। सत्ताइस वर्षीया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको घटनालाई उनको प्रसूतिमा सघाएका काठमाण्डू मेडिकल कलेज (केएमसी) का चिकित्सहरूले ’दुर्लभ’ घटना बताएका छन्।

केएमसीकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर कार्कीले सामान्य तरिकाबाटै बस्ने गर्भमा यस्तो हुनु निकै दुर्लभभएको बताईन्। बुधवार जन्मिएका शिशुहरू ३४ हप्ता पुगेपछि जन्मिएका कारण ती शिशुहरूलाई श्वासप्रश्वासमा कठिनाइ हुन सक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस