सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा मानमतीले जन्माईन तीन छोरी, आमा र शिशुको अवस्था जोखिममा

२०७६ असोज ६, ०६:३७ नरेन्द्र कार्की

दार्चुला- नौगाड गाउँपालिका २ का २५ वर्षीया मानमती धामीले तीन छोरी जन्माएकी छिन्। सोमबार बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसुति (बर्थिङ) सेन्टरमा बच्चा जन्माएकी हुन्। उनले समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले बताईन्। 

उनले एक महिना अघि नै तीन वटा बच्चा पाएकी हुन्। यसअघि धामीका एक छ वर्ष र अर्को ३ वर्षकी गरि दुई छोरी छन्। नौगाड सुरक्षित प्रसुति गृहमा तीन बच्चा जन्मिएको यो पहिलो घट्ना हो। तीनै छोरीको तौल औसतमा कम छ। पहिलो पटक जन्मिएको छोरीको २ किलो, तथा दुई छोरीको १ किलो २ सय ग्राम मात्र तौल रहेको ठगुन्नाले बताईन्। 

औसतमा बच्चा जन्मिदा ढाई किलोग्राम तौल हुने गर्छ। अहिलेसम्म आमा र शिशुको अवस्था सामान्य रहेपनि जोखिम भने रहेको स्वास्थ्यर्कीको भनाई छ।  कम तौल तथा समयावधि अगावै बच्चा पाएका कारण स्वास्थ्य जोखिममा रहेको अनमी ठगुन्नाले बताईन्। महिलाको तल्लो पेट दुख्ने तथा रक्तश्राप नरोकिएको कारण खतरामुक्त नरहेको ठगुन्नाको भनाई छ। 

दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा समस्या भएको अनमी ठगुन्नाले बताईन्। यस्तै अक्सिजन मेसिन समेत छैन्। २४ सै घण्टा प्रसुति सेवा भएपनि उपकरण अभावमा समस्या भएको उनले बताईन्। 

सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरिएको भएपनि परिवारले आर्थिक अभाव देखाउदै लगेको छैन्। परिवारको आर्थिक अवस्था कमजोर छ, बाहिर लिन खर्च छैन, मानमतीका श्रीमान मानसिह धामीले भने, स्वास्थ्यकर्मीले बिहानै बाहिर लैजान भनेपनि लैजान सकिएको छैन्। 

नौगाड गाउँपालिकाका नायव सुब्बा नरेन्द्रसिह ठगुन्नाले महिला र नवजात शिशुको थप उपचारको लागि बाहिर लैजाने तयारी गरिएको बताए। सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर धामी र गेल्बुसिह बोहराले सुत्केरी महिलालाई एयरएम्बुलेन्स मार्फत धनगढी लैजाने प्रक्रिया अगाडी बढाएको बताए। 

मंगलबार बिहानसम्म उद्धार गर्ने तयारी भएको छ। प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले ढिलो गरी महिला नवजात शिशुको बारेमा जानकारी आएको कारण तयारीमा ढिलाई भएको बताए। 
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस