सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छलेर कैलाली, कञ्चनपुरमा दैनिक हजार क्विन्टल चिनी भित्रिदै

साल्ट ट्रेडिङको चिनी बिक्दैन

२०७६ असोज ६, १२:०५ खबर संवाददाता

कैलाली र कञ्चनपुरका विभिन्न अबैध नाकाबाट दैनिक एक हजार भन्दा बढि क्विन्टल चिनी भित्रिदै आएको पाईएको छ। कैलालीको सत्तीदेखि कञ्चनपुरको ब्रह्मदेव सम्मका दर्जनौ अवैध नाकाबाट दैनिक एक हजार क्विन्टल भन्दा बढी चिनी अवैध रूपमा भित्रिरहेको पाईएको हो।

साइकलदेखि ट्रक सम्मका सवारी साधनमा ठूलो परिणामको चिनी अवैध रुपमा आयात भईरहेको हो। चिनीको अवैध आयातमा स्थानीय प्रहरी प्रशासनदेखि भन्सारकर्मीको समेत मिलोमतो रहेको स्रोतको दावी छ।

साल्ट्र ट्रेडिङ कर्पोरेसनको एक अध्ययन प्रतिवेदनले सुदूरपश्चिमको करिब ३० लाख जनसंख्यालाई वार्षिक रूपमा चाहिने २४ हजार टन चिनी मध्ये २० प्रतिशत मात्रै बैध रुपमा आयात भएको छ। बाँकी ८० प्रतिशत चिनी अवैध रूपमा आपूर्ति हुने गरेको उल्लेख गरिएको छ।

१९ हजार टन चिनी अवैध रूपमा भित्रिँदा सरकारले पनि वार्षिक करोडौं रुपैयाँ राजश्व गुमाइरहेको छ। ‘सुदूरपश्चिम क्षेत्रको बजार अनुगमन गर्दा चिनीको भ्याट मूल्यको बिल कसैसँग भेटिएको छैन्,’ साल्ट्र ट्रेडिङ कर्पोरेसन क्षेत्रीय प्रमुख केशवराज पाण्डेयले भने, ‘कैलाली र कञ्चनपुरका सीमाबाट चिनी तस्करी हुने गरेको छ।’ उनले अहिले सीमा नाका भएर आउने जुनसुकै सवारी साधनमा पनि अवैध चिनी भेटिने गरेको बताए। 

कैलालीको मूल भन्सार त्रिनगरको गेटबाट साइकलमा चिनी क्यारिङ गर्ने दुई सयभन्दा बढी महिला छन्। उनीहरुले अकाली दल नाम नै राखेर अवैध रुपमा चिनी तस्करी गर्दे आएका छन्। एक पटक प्रहरी प्रशासनले कडाइर्ए गर्न खोज्दा उनीहरुले चिनीको तस्करी गर्न पाउनपर्ने भन्दै आन्दोलन नै गरेका थिए। 

पाण्डेयले साल्ट ट्रेडिङको चिनी बिक्री नभएपछि बजार अध्ययन गरेको बताए। यो वर्ष पनि २ सय क्विन्टल चिनी आएको तर बजारमा अभाव नभएकाले थन्किने सम्भावना उत्तिकै भएको उनले जानकारी दिए। कैलालीका भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीले पनि खुला सीमाबाट चिनी तस्करी भईरहेको स्वीकार गरे।

भन्सार र सुरक्षाकर्मीले अवैध चिनी बरामद गर्दै विभिन्न पटक लिलाम गरेको उनले दावी गरे। भारतबाट साइकल र अन्य ठूला सवारी साधनमा भित्रिने अवैध चिनी नेपाली बस्तीमा पुगेपछि नयाँ बोरामा पुनः प्याकिङ गरेर सुदूरपश्चिमका पहाडी तथा पूर्वी जिल्लामा पठाउने गरिएको छ। धनगढीका अधिकासं व्यापारीहरुले पनि सोही चिनी खरिद गर्दै विक्री गर्दै आएका छन्। 

सुदूरपश्चिममा रहेको देशकै ठूलो भनिएको बासुलिङ सुगर मिल बन्द भएको दशक बढी भइसकेको छ। कञ्चनपुरको पुनर्वास क्षेत्रमा खुलेका भागेश्वर सुगर मिल र महाकाली सुगर मिल सञ्चालनमा छन्। दुवै मिलले ३० लाख क्विन्टल चिनी मुश्किलले उत्पादन गर्दै आएका छन्। यी दुई मिलबाट उत्पादित चिनीको २० प्रतिशत मात्रै सुदूरपश्चिममा खपत हुने गरेको र बाँकी चिनी काठमाडौं र पोखरा लगेर बिक्री गर्नुपरेको सञ्चालकहरुले बताएका छन्। 

 

कमेन्ट लोड गर्नुस