सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा जहिले सास्ती, सीमा सहायता कक्षमा भेटिदैनन् सुरक्षाकर्मी

२०७६ असोज ६, ०६:५८ कमल सावद

यतिबेला महान पर्व दशैंतिहार मनाउन गौरीफन्टा नाका भएर फर्किनेको लर्को नै लागेको छ। नाकामा विभिन्न बाहनामा यात्रुहरुले दु.ख पाउने कुरा भने नौलो होईन। भारतबाट फर्किरहेका नेपालीहरुबाट चिया खर्च भन्दै भन्सारका कर्मचारी र सुरक्षाकर्मीहरुले रकम असुल्दै आएको गुनासो विगतदेखिकै हो। यस वर्ष पनि त्यो परिपाटी दोहोरिएको छ। 

दिनेश खवरको टिम आइतबार बिहान साढे ५ बजे सीमा नाका गौरीफन्टा पुग्यो। बिहान साढे पाँच बजे नेपाल प्रहरीले मोहना नदीको पुलमा भारत जाने सवारीका साधन रोकेको थियो भने, भारतीय पक्षले गौरीफन्टा सीमा प्रवेशद्धारमा गाडी रोकेको थियो।

भारतीय भागमा सोलार बत्तिले उज्यालो थियो तर नेपाली भुभाग सुनसान र अध्यारो थियो। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का दुई अधिकारी सहित यात्रुहरु सीमा नाकामा थिए।  त्यहि समयमा भारतीय सुरक्षाकर्मीहरु सीमा नाकामा हुँदा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको चेक पोष्ट भने रित्तो थियो।  सशस्त्र प्रहरीको चेक पोष्ट तथा गत शनिबार मात्र स्थापना गरिएको संयुक्त सहायता कक्षमा एक जना पनि सुरक्षाकर्मी भेटिएनन्। 

विद्युतीय रिक्साहरुको मात्र नेपाल–भारतको गौरीफन्टा दशगजा क्षेत्रमा भिड थियो। भारतबाट बसमा आएका नागरिकलाई नेपाल प्रवेश गर्न नदिएकाले उनीहरु फुर्सदमा थिए। पौने ६ हुँदै थियो, एक बस आएर सीमामा रोकियो। 

केही समयमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले प्रदेशद्धार खोल्यो। बिहानको ६ बज्यो। भारतबाट फर्किएका नेपाली नागरिक लाईन लागेर नेपाल प्रवेश गर्न थाले। एसएसबीले तीन ठाँउमा चेक–जाँच ग¥यो। सुरुमा प्रवेशद्धारसंगै जोडिएको पाल भित्र, दोस्रो पटक चेकपोष्ट र अन्तिममा एक जनाले लाईनमा लगाएर नेपाली नागरिकका सामनहरु चेकजाँच गरेको हामीले नियाली रह्यौं। 

सहकर्मी रोशन भट्ट भारतीय पक्षले चेकजाँच गर्ने अन्तिम चेकपोष्ट नजिक गए। उनले एसएसबीको चेकजाँचलाई नियाली रहे। भारतबाट नेपाल भित्रिनेहरुको लर्काे नै थियो। उनीहरु बसमा गौरीफन्टा सम्म आएका थिए। केहीलाई सीमाबाट नगर बसले धनगढी ल्याउदै थियो केही विद्युतीय रिक्सामा धनगढी भित्रिदै थिए।

भारतबाट फर्किएका धेरै मध्ये केहीलाई हामीले फर्किदा केही समस्या छ ? भनेर प्रश्न गरेका थियौं। उनीहरुको उत्तरमा समानता थियो। बढि सामान भए, खर्च माग्छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सामान अनुसारको खर्च लिने गरेको धेरैले गुनासो गरे। 

 

यति बेला सम्म बिहानको ६ बजेर ४० मिनेट गएको थियो। नेपाली सुरक्षा निकायका प्रतिनिधि त्यहाँ थिएनन्। फेरी पनि सीमा सहायता कक्ष रित्तो नै थियो। सशस्त्र प्रहरीको चेकपोष्ट पनि रित्तै थियो। बिहानको ७ बजे हामी त्यहाँबाट धनगढी तर्फ फर्कियाै।

मोहना पुलमा नेपाल प्रहरीले भारतबाट फर्किएका नेपालीहरुलाईलाई चेकजाँच गर्दै थियो। त्रिनगर भन्सार कार्यालय अगाडी सशस्त्र प्रहरीको पनि अर्काे चेकपोष्ट थियो। सशस्त्रका एक जना जवान पोष्टमा थिए। उनले चेकजाँच गरेको देखिएन्।

विद्युतीय रिक्सामा भारतबाट फर्किएकाहरु सिधै धनगढी आउँदै थिए। हामीले विद्युतीय रिक्सामा आएका केहीलाई समस्याका बारेमा बुझ्ने प्रयास त्यहाँ पनि गरेका थियौं। उनीहरुले नेपाल र भारतीय प्रहरीले रकम माग्ने गरेको सुनाए। डोटीका जोगी भण्डारीले नेपाल प्रहरीले पुलमा रकम लिएको गुनासो गरे। 

उनले भने– ‘हामी समुहमा आएका छौ, पुलमा नेपाल प्रहरीलाई एक जनाले दुई सय दिनुभयो, अनि मात्र हाम्रो सामान छोडियो। भारतमा होटलमा काम गरेर हामी दशैँ मान्न घर आएका हौ।’ ‘सीमामा भारतीय र नेपाली सुरक्षा कर्मीहरुले दुःख दिने गरेका छन्।’ उनीसंगै विद्युतीय रिक्सामा बसेका अर्का एक जनाले गुनासो पोखे। 

सहायता कक्षमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरुलाई बसाउने निर्णय गत शनिबार भएको थियो। चाडपर्वका समयमा घर फर्किने नेपाली तथा भारतजा नेहरुलाई समस्या नहोस् भन्नका लागि गौरीफन्टा नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको भनाई थियो।

तर सीमामा प्रहरी अधिकारीका कारण नै नागरिकले दुःख पाएको गुनासो गरिएको छ। प्रमुख जिल्ला अधिकारी बोहराले सीमामा नागरिकको आवगमन सुरु हुँदा प्रहरी हुनु पर्ने बताउँछन्।  कैलालीका प्रहरी प्रमुख सुदिप गिरीलाई बोलाउँदै समस्याका बारेमा छलफल गर्ने आश्वासन उनले दिए।

उनले भने,–‘दशै मान्न घर फर्किएकाहरुको सुरक्षाका लागि हामी प्रतिवद्ध छाै। सीमानामा दुःख नदिन निर्देशन दिइएको छ। गुनासो आएपछि सम्बोधन गर्ने छाै। रकम माग गर्ने प्रहरीलाई कारबाही हुन्छ।’
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस