राष्ट्र बैंकले दशैँका लगि शुक्रबार देखि नयाँ नोट साट्दै, दक्षिणा लेनदेन गर्दा नोट मैलो नपार्न आग्रह
नेपाल राष्ट्र बैंकले आउँदो शुक्रबारदेखि दशैँका लागि नयाँ नोट साटने भएको छ। १७ गतेसम्म राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका कार्यालय र अरु सरकारी बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट लिन सकिने राष्ट्र बैंकले जनाएको छ। एक जनाले ५, १०, २०, ५० र १०० दर एक एक पाकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैँयासम्म साट्न मिल्ने राष्ट्र बैंकले जनाएको छ।
बर्षेनि नयाँ नोट बजारमा पठाइने भए पनि कम समयमा नै नोट झुत्रा हुन थालेपछि राष्ट्र बैंकले दशैँमा यसको सम्भार गर्न अनुरोध गरेको हो। यसका लगि दक्षिणा लेनदेन गर्दा रंग तथा अबिर नलगाउन राष्ट्र बैंकले अनुरोध गरेको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘पूजाआजा गर्दा पण्डितहरुले नोट पानीमा भिजाउने र रंग लगाउने गरेको धेरै पाइएको छ, अबदेखि त्यसो नगर्नुहोला, अनि दशैँमा धेरै नोट कच्याककुचुक पारेको देखिन्छ, दक्षिणा लेनदेन गर्दा नोट मैलो नपार्न अनुरोध छ।’
यस्तै नोटमा जथाभावी केरमेट गर्ने, मैलो बनाउने, च्यात्ने, आकार बिगार्नेलगायतका काम गर्नेलाई कारबाही गर्ने पनि राष्ट्र बैंकले जनाएको छ।