सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हावाहुरीपछि विद्युत मर्मतमा अस्वभाविक रकम माग, फाईल फिर्ता

२०७६ असोज ५, १२:५० जनक विष्ट

गत जेठमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आएको हावाहुरीपछि विद्युत लाईन मर्मत सम्भारका नाममा अस्वभाविक रकम माग भएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले विद्युतको लाईन मर्मत सम्भार, पोल जडान, ढुवानी खर्च लगायतमा एकमुष्ट तीन करोड बढि रकम लागेको भन्दै भुक्तानीका लागि माग गरेको स्रोतको भनाई छ।

धनगढी वितरण केन्द्रका तत्कालीन प्रमुख धिरेन्द्र कुमार यादवले हावाहुरी पछि अवरुद्ध भएको विद्युत लाईन सुचारु गर्दा मर्मत सम्भार, पोल जडान, ढुवानी खर्च लगायतमा अस्वभाविक रकम माग गरेपछि प्राधिकरणले अहिले सम्म भुक्तानी नदिएको स्रोतले बतायो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हावाहुरीका समयमा विद्युत मर्मत सम्भारमा तीन करोड बढि खर्च लागेको भन्दै पेश भएको फाईल फिर्ता गरिदिएका छन्।

घिसिङले मर्मत सम्भार, पोल, ट्रान्सफर्मर जडानका नाममा अस्वभाविक रकम माग भएपछि हेरफेर गर्न भन्दै फाईल फिर्ता पठाएका हुन्। धनगढी वितरण केन्द्रले गत असारमै प्राधिकरणमा फाईल पेश गरेको थियो। धनगढी वितरण केन्द्रका लेखापाल पूर्ण कुँवरले पनि फाईल फिर्ता आएको कुरा पुष्टि गरे।

उनले प्राधिकरणबाट हेरफेर गरी सच्याएर पठाउन भन्दै फाईल फिर्ता भएपनि दोस्रो पटक पेश भने नगरिएको बताए। प्राधिकरणलाई पुनः फाईल पेश गर्ने गृहकार्यमा आफूहरु रहेको कुँवरले दिनेश खबरलाई बताए। यद्यपी रकम कती हो भन्ने विषयमा आफूलाई जानकारी नभएको उनले बताए। तर तीनदेखि चार करोड सम्म माग भएको हुनसक्ने लेखापाल कुँवरको भनाई छ। 

यता हालै धनगढी वितरण केन्द्र प्रमुख भएर आएका सुरेन्द्र चौधरीले भने उत्तः विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। सुरुमा फाईल फिर्ता आएको कुरा गलत भएको दावी गरेका उनले पछि भने त्यस बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका हुन्।     
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस