खप्तड जोड्ने सिलगढी–झिग्राना सडक अवरुद्ध
डोटीको खप्तड जोड्ने सिलगढी–झिग्राना सडक अवरुद्ध रहेको छ। बर्षात सुरु भएसंगै सडकखण्डमा आवतजावत बन्द भएको स्थानीयले बताएका छन्। दशै र तिहारको समयमा पर्यटकहरु खप्तड घुम्न जाने भएपनि सडक अवरुद्ध हूँदा यो बर्ष पर्यटक आउनेमा समेत आशंका बढेको डोटी उद्योग वाणिज्य संघका महासचिव दिपकवहादुर खड्काले बताए।
प्रदेश सरकारले उक्त सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता गरिसकेको भएपनि अहिले अवरुद्ध भएको सडक सञ्चालनका लागि भने कसैले ध्यान नदिएको गुनासो उनको छ। खप्तडसंग सीमाना जोडिएका तीन वटा स्थानीय तहले पनि सडक सुचारु गर्न वेवास्ता गरेको आरोप खड्काको छ।
बझाङको खप्तड छान्ना गाउँपालिका भएर बिदेशी पर्यटक सहित खप्तड पुगेका आषिश चौधरीले खप्तडबाट सिलगढी झर्न छिटो र सजिलो होला भनेर बिदेशी पर्यटकलाई झिग्राना झारे पनि सडक अवरुद्ध हुँदा समस्या भएको बताए।
सिलगढी–झिग्राना सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भने भईसकेको छ। ३८ करोड रुपैँयाको लागतमा १५ दशमलब ६ किलोमिटर सडक कालोपत्रे गर्न सीएबी कन्स्ट्रक्सन प्रालीसंग ठेक्का सम्झौता भईसकेको छ।
असारमा २ प्याकेजमा ठेक्का सम्झौता गरिएको र अहिले निर्माण समेत सुरु भईसकेको पुर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए। निर्माण अवधी ३० महिनाको राखिएको समेत उनले जानकारी दिए।
खप्तड जाने सडक कालोपत्रे भए यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। उक्त सडक निर्माण भए पुर्बिचौकी गाउँपालिकाका बगलेक, झिग्राना, भार्तोली, वाडी, कुडासैन र सायल गाउँपालिकाका भल्मा, सपरा, बेटाराका स्थानिय जनतालाई सदरमुकाम आवतजावतमा सहज हुने छ। सो क्षेत्रमा उत्पादन हुने आलु लगायत कृषि उपजले पनि बजार पाउने छ।