सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईको अबुधाबीमा अलपत्र परेका एक सय २० जनालाई नेपाल फर्काइयो

। फोटो स्रोत ।
२०७६ असोज ३, ०१:०४ खबर संवाददाता

युएईमा अलपत्र परेका एक सय २० जना नेपालीलाई घर फर्काइएको छ। कम्पनीका कारण यूएईको आबुधाबीमा अलपत्र परेका उनीहरुलाई नेपाली दूतावास, रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा घर फर्काइएको हो।

आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् (एलएलसी) मा कार्यरत दुई सय ५० जना नेपाली कामदार समस्यामा परेका थिए। समस्यामा परेका यी कामदारमध्ये एक सय २० लाई घर नेपाल फर्काइएको हो। बाँकी कामदार फिर्ता पठाउन प्रक्रिया थालिएको र छिट् नेपाल पठाइने दूतावासले जनाएको छ।

पहिलो चरणमा पुरुष कामदारलाई घर फर्काइएको छ र दोस्रो चरणअन्तर्गत महिला कामदारलाई फर्काउन प्रक्रिया थालिएको दूतावासका श्रम सहचारी मोतीराम भुसालले जानकारी दिए। करार अवधि पूरा भएपछि कम्पनीले भिसा नवीकरण नगरेको र ६ महिनादेखिको तलबसमेत नदिएपछि कामदार समस्यामा परेका हुन्। उक्त कम्पनीमा नेपालीसहित अन्य देशका गरी ६ सय भन्दा धेरै कामदार समस्यामा छन्।

गत आइतबारदेखि नेपाली कामदारलाई घर फर्काउन थालिएको हो। समस्यामा परेपछि कामदारहरूले ३ महिनाअघि दूतावासलाई जानकारी गराएका थिए। ६९ जनाले लिखित निवेदन दिएर समस्या समाधान गर्न आग्रह गरेका थिए। 

हालसम्म दुई सय ५० भन्दा बढी पीडित कामदार सम्पर्कमा आएको दूतावासले जनाएको छ। उनीहरुको समस्या समाधानका लागि दूतावासले श्रम काउन्सुलर भेषबहादुर कार्की, श्रमसहचारी मोतीराम भुसाल र जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमलाई जिम्मेवारी दिएको छ।

 

कमेन्ट लोड गर्नुस