सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले २ सय ८२ जना कैदी बन्दीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

। फोटो स्रोत ।
२०७६ असोज २, ०७:५६ खबर संवाददाता

सरकारले २ सय ८२ जना कैदी बन्दीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले कैदीहरुको कैद, दण्ड, जरिबाना, विगो सर्वस्व र बाँकी कैद र सजाय माफी दिने सम्बन्धमा राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ बमोजिम सरकारले साे निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए।

बैठकले नेपाली सेनाका ३ जनाको पद बढुवा गर्ने निर्णय पनि गरेको छ। नेपाली सेनाका प्राविधिक प्रमुख सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको हो। यसका साथै महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा पदोन्नती गर्ने निर्णय पनि सरकारले गरेको छ। पूर्व माओवादी लडाकु रहेका अधिकारीलाई सरकारले ४ वर्षका लागि सहायक रथी दर्जाको विशेष पद सिर्जना गरेर पदोन्नति गर्ने निर्णय गरेको हो। 

यस्तै सरकारले मेलम्ची खानेपानी आयोजनाका श्रमिकहरुको बाँकी ज्याला ठेकेदारबाट असुल गर्ने निर्णय पनि गरेको छ। मेलम्ची खानेपानी आयोजनाका श्रमिकहरूको बाँकी ज्याला सम्बन्धित ठेकेदारबाट असुल गरी हिसाब मिलान गर्नेगरी राहत स्वरूप भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरिएको हो। भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २६ वटा निर्णय गरेको थियो।  
 

कमेन्ट लोड गर्नुस