सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सञ्जय राना सहित तीन जनालाई हिरासतमै राख्न तेश्रो पटक म्याद थप

२०७६ असोज २, ०२:५९ खबर संवाददाता

धनगढीमा ठगीको आरोपमा पक्राउ परेका सञ्जय राना सहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न तेश्रो पटक म्याद थप गरिएको छ। पहिलो र दोश्रो पटक ७–७ दिन म्याद थप गरिएकोमा तेश्रो पटक जिल्ला अदालत कैलालीबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उप–महानगरपालिका–६ मटियारीका राना सोही सहित ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई प्रहरीले १५ दिन अगाडी धनगढीकै विभिन्न स्थानबाट पक्राउ गरेको थियो। अहिले उनीहरु विरुद्ध तीन वटा मुद्धा चलिरहेको छ।

ठगी, सरकारी छाप दस्तखत किर्ते र हातहतियार खरखजनामा उनीहरु विरुद्ध मुद्धा दर्ता गर्दै अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

‘ठगी, सरकारी छाप दस्तखत किर्ते र हातहतियार खरखजनामा बढिमा २५ दिन मात्रै प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान रहेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘तर तीनै विरुद्ध संगठीत अपराधमा पनि मुद्धा दर्ताको तयारी भएकोले ६० दिन सम्म म्याद थप्न सकिने सम्भावना रहेको छ।’

उनीहरुमाथि अनुसन्धान जारी रहेको बताउँदै उनले विभिन्न रिर्पोट आउन बाँकी रहेको जानकारी दिए। राना सहित तीन जनामाथि पोलीग्राफ परीक्षण पनि भईसकेको छ। संलग्न भएका अपराध र आफ्नो समूहका विषयमा उनीहरुले बताउन नमानेपछि पोलीग्राफ परीक्षण गरिएको भएपनि परिक्षणबाट खासै उपलव्धी नभएको समेत प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 

पोलिग्राफ परिक्षणका लागि प्रदेशमै रहेको छुट्टै टिम जिल्ला प्रहरी कार्यालयमा आएको थियो। पोलिग्राफ ढाँटेको पत्ता लगाउन मेसिनका रुपमा चिनिन्छ। प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात बरामद गरेको थियो।

विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक बरामद गरिएको थियो भने विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक पनि बरामद गरिएको थियो। दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको थियो। 

एक सय ६ करोड रुपैँयाको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको थियो भने छाप र नक्कली पत्र तथा कागजाहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरेको थियो।

नापी कार्यालय, मालपोत, राजश्व संगै सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरिएको हो भने राष्ट्र बैंकका गभर्नर सहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएको थियो। यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता पनि भेटिएको थियो।
 

कमेन्ट लोड गर्नुस