सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईमा अलपत्र परेका नेपालीहरुको उद्धार प्रक्रिया सुरु

२०७६ असोज २, ०२:०२ खबर संवाददाता

युएईमा अलपत्र परेका नेपालीहरुको उद्धार प्रक्रिया सुरु भएको छ। यूएईको आबुधाबीमा समस्यामा परेका कामदारलाई आबुधाबीमा रहेको नेपाली दूतावास र स्थानीय अदालतको सहकार्यमा उद्धार प्रकृया सुरु भएको हो। बुधबारसम्म १ सय २० जना नेपाली पुरुष कामदारलाई उद्धार गरेर नेपाल फर्काइएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

दुतावासका अनुसार आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् कम्पनीमा कार्यरत पुरुष महिला गरी झण्डै २ सय ५० जना नेपाली कामदार कम्पनीको लापरवाहीका कारण समस्यामा परेका थिए। त्यस कम्पनीमा नेपालीसहित ६ सय भन्दा धेरै कामदार अहिले समस्यामा छन्। काम गरेवापत ६ महिनासम्म तलब नदिएको र भिसा नविकरण नगरिदिएकोले कामदार समस्यामा परेका हुन्। कम्पनीले काम गरेको तलबसहित नेपाली कामदारलाई नेपाल फर्काउन थाले पनि  भिसा सकिएकाहरुलाई भने काम गरेको पैसा नदिएको पीडितले गुनासो गरेका छन्। 

‘कम्पनीले तत्काल भिसा सकिएर अवैधानिक भएका कामदारलाई एकतर्फी हवाइ टिकटबाहेक काम गरेको ६ महिनाको तलब र सेवासुविधा केही दिएको छैन’, पीडित सर्लाहीका गोपिलाल चौधरीले बताए। अहिले पुरुष कामदारलाई नेपाल पठाए पनि आइतबारदेखि महिला कामदारलाई पनि नेपाल पठाइने छ। ८ जना नेपाली महिलालाई आगामी आइतबारको हवाई टिकटसहित नेपाल फर्काउने तयारी भएको बताइएको छ।

समस्यामा परेका केहीले तीन महिना पहिले नेपाली दूतावास आबुधाबीलाई जानकारी गराएका थिए। लामो समयसम्म दूतावासले चासो दिएको थिएन। तर समस्यामा पर्ने कामदारहरुको नियमित दबाबपछि दूतावासले कानुनी प्रकृया सुरु गरेको छ। अहिले कम्पनीले दैनिक २० देखी ३० जना कामदार सम्बन्धित देश फर्काउन सुरु गरेको छ भने जान नचाहेहरुको लागि कम्पनीबाट क्षतिपूर्ति भराइदिएको दुतावासले जनाएको छ।

मंगलबार मात्रै ३४ जना नेपालीलाई एकै पटक एयर अरबियाको उडान मार्फत नेपाल फर्काएको थियो। त्यस कम्पनीमा कतिजना नेपाली कार्यरत छन् र कति समस्यामा छन् भन्ने एकिन तथ्यांक नभए पनि अहिलेसम्म २ सय ५० जना भन्दा धेरै पीडितहरु सम्पर्कमा आएको दूतावासले जनाएको छ।

समस्यामा परेका कामदारले २४ औँ विश्व ऊर्जा सम्मेलनमा सहभागी हुन अघिल्लो हप्ता यूएई गएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनसँग दूतावासमा भेटेर आफूहरु समस्यामा परेको जानकारी समेत गराएका थिए।
 

कमेन्ट लोड गर्नुस