सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक वर्ष सुरु भएको ८१ दिनपछि आज बजेट ल्याउँदै सुदूरपश्चिममा सरकार

२०८३ असोज २१, ०७:२९ खबर संवाददाता

धनगढीः आर्थिक वर्ष सुरु भएको ८१ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दैछ।

प्रदेश सरकारले आज साँझ ५ बजे चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रदेशसभामा प्रस्तुत गर्न लागेको हो। मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने गरी प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय गरेको थियो। सभामुख भीमबहादुर भण्डारीले बजेट प्रस्तुतिका लागि बैठक आह्वान गरिएको बताए।

बजेट प्रस्तुत भएर पारित भएपछि सुदूरपश्चिमले भोग्दै आएको बजेट शून्यताको संकट टुंगिनेछ। गत असार १ गते तत्कालीन प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर, बजेटकै विषयलाई लिएर सत्तारुढ दलभित्र विवाद चर्किएपछि त्यो बजेट प्रदेशसभाबाट पारित हुन सकेन।

बजेटकै विवादले कांग्रेस नेतृत्वको सरकार परिवर्तन भयो र साउन १ गतेदेखि प्रदेश सरकार बजेटविहीन अवस्थामा पुग्यो। नयाँ सरकार गठन भए पनि लामो समयसम्म बजेटको गाँठो फुक्न सकेन। बजेट नहुँदा प्रदेश सरकारका नियमित खर्चदेखि विकास निर्माणका कामसमेत प्रभावित भए। सरकारी कार्यालय सञ्चालनमै समस्या देखिन थाल्यो भने कर्मचारीले समेत लामो समयदेखि तलब पाउन सकेका छैनन्।

कमेन्ट लोड गर्नुस