सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पनि विज्ञान दिवस मनाइयो

२०७६ असोज १, ०५:३५ खबर संवाददाता

अत्तरिया स्थित दुर्गालक्ष्मी प्राविधिक नमूना विद्यालयले राष्ट्रीय विज्ञान दिवस मनाएको छ। विद्यालयको प्रदर्शनी हलमा सञ्चालित कार्यक्रममा विज्ञान प्रदर्शनी र विज्ञान प्रविधी सम्बन्धी चर्चा गरिएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नै स्रोतसाधन र कच्चा पदार्थ प्रयोग गरी विज्ञानका बिभिन्न उपकरणहरू निर्माण गरी प्रदर्शन गरेका थिए। प्रदर्शनीमा रोबोट, इलेक्ट्रिक फ्यान, लिफ्ट, केवलकार, पानीजहाज, म्याग्नेटिक गन, अल्कोहल थर्मोमीटर, अटो चार्जेबल ब्याट्री लगायतका उपकरण विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।

कार्यक्रममा विज्ञान शिक्षक समुहका संयोजक अनिल ओझा, शिक्षकहरू बिक्रम खड्का, गगनराज भट्ट, डिल्लीराज जोशी, सुरेश धामी लगायतले विज्ञान र प्रविधीका बिभिन्न सवालमा आफ्ना धारणा राखेका थिए। विद्यालयका इन्चार्ज राम बहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकहरू लेखराज महता, मनिषा मल्ल, लक्ष्मी पाण्डे, सहायक प्रधानाध्यापक डीएन भट्ट लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले विद्यार्थीहरूको रचनात्मक क्षमता र प्रतिभा उजागर गर्न विद्यालयका तर्फबाट आफु सधै अग्रसर हुने बताए। विज्ञान र प्रविधीको समुचित बिकासबाट मात्रै समृद्धि सम्भव भएकाले विद्यालय तहदेखि नै यसको बारेमा सकारात्मक धारणा जगाउन र विज्ञान सम्बन्धि सिर्जनात्मक क्षमता अभिबृद्धि गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक जनक रसिकले जानकारी दिए। नेपालमा २०६९ सालदेखि हरेक असोज १ गते विज्ञान दिवस मनाइदै आइरहेको छ ।

कमेन्ट लोड गर्नुस