सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हिरोइन सहित ३ जना पक्राउ

२०८३ असोज १३, ०९:२८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–९, पिपरियास्थित जानकी सामुदायिक वन क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले सोमबार राति सु.प.प्र.०१–००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–९ बस्ने ३४ वर्षीय अनिल राना र २२ वर्षीय हरि राम रानालाई चेकजाँच गरेको थियो। सो क्रममा उनीहरूको साथबाट ७ ग्राम १९० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै, बेलडाँडी गाउँपालिका–३, बलराम टोलबाट पनि प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलौरी नगरपालिका–९ अण्डैया बस्ने २६ वर्षीय दिनेश डगौरालाई शंका लागेर चेकजाँच गर्दा २ ग्राम ६७० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

डगौरालाई प्रहरी चौकी झिलमिला, कञ्चनपुरबाट खटिएको टोलीले सोमबार राति पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस