सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

२०८३ असोज ४, १२:१३ रासस

काठमाडौँ: परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।

जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकताअनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।

मन्त्रालयले गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचनाअन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। 

नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा निरन्तर रूपमा सक्रिय सहभागिता जनाउँदै आएको छ। यसै प्रयासलाई समन्वित र संस्थागत रूपमा अघि बढाउन शाखा  स्थापना गरिएको जनाइएको छ। नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तरराष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ।

परराष्ट्रमन्त्री खनालले जलवायु कूटनीतिलाई अन्तरराष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए। उनले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन वा अन्य कार्यक्रममा सहभागिता जनाउनेमा मात्र केन्द्रित गरेर जलवायु कूटनीतिको सामथ्र्य नबढ्ने बताए।

कमेन्ट लोड गर्नुस