सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

२०८३ असोज ३, ०१:२१ रासस

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न एकजुट हुनुपर्ने बताए ।

संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानका मूल मर्म र भावनालाई व्यवहारमा अनुवाद गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री भट्टले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय, समानता र समावेशिताका मूल्यमान्यतालाई संस्थागत गरेको बताए ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारुले वर्तमान संविधान कानुनको सङ्ग्रह मात्र नभई नेपाली समाजको विविधतालाई समेट्ने एकताको प्रतीक हो भने । 

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललेसंविधानको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए ।

सुदूरपश्चिम प्रदेशका निवर्तमान सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धर्मराज जोशी र धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानालगायतले संविधानका विविध पक्षको विवेचना गरे ।

समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुख सहभागी भए । 
 

कमेन्ट लोड गर्नुस