सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा भन्सार छलीका १ लाख बढीका सामान बरामद

file photo
file photo
२०८३ भदौ २९, ०९:३३ खबर संवाददाता

कैलाली: कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख ९५ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट आइतबार इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा राखिएका करिब ७५ हजार ६०० रुपैयाँ बराबरका सामान बरामद गरेको हो। बरामद सामानमा चिनी, प्याज, बिडी, सुर्ती, सरप, आलु, प्लास्टिक झिल्ली लगायत रहेका छन्।

त्यस्तै, कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख २० हजार ३८० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

प्रहरीका अनुसार बरामद सामानमा पेय पदार्थ, विभिन्न प्रकारका कपडा, सुर्ती, खाने तेल, नमकिन, हार्डवेयर लगायतका सामग्री रहेका छन्।

दुवै जिल्लामा बेवारिसे अवस्थामा फेला परेका सामानलाई प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। बरामद सामानमाथि सम्बन्धित निकायसँगको समन्वयमा थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस