सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका तीन पालिकामा जेईविरुद्ध खोप अभियान, १ लाख ८२ हजारलाई खोप लगाइने

२०८३ भदौ २८, ०२:३० खबर संवाददाता

धनगढी: कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। जेई संक्रमणदर बढ्दै गएपछि स्वास्थ्य कार्यालय कैलालीले असोज १ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो।

शनिबार सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकमा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन गरिने जानकारी दिए।

स्वास्थ्य कार्यालयका प्रमुख कुँवरका अनुसार घोडाघोडी र लम्कीचुहा नगरपालिकामा असोज १ देखि ७ गतेसम्म तथा धनगढी उपमहानगरपालिकामा असोज ८ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।

अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेईविरुद्धको खोप लगाइनेछ। स्वास्थ्य कार्यालयका अनुसार धनगढीमा १ लाख २ हजार ४९९, घोडाघोडीमा ३९ हजार ५९ र लम्कीचुहामा ४० हजार ७५५ गरी कुल १ लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। लक्षित जनसंख्यामध्ये १ लाख ३८९ जना महिला रहेका छन्।

अभियानका लागि १ लाख ९१ हजार ४२९ डोज खोप आउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्थानीय तह र स्वास्थ्य संस्थामार्फत खोप लगाउने गरी आवश्यक तयारी भइरहेको कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख कुँवरका अनुसार सन् २०२६ को सुरुवातयता घोडाघोडी नगरपालिकामा जेई संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ। धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा भने तीन/तीन जना संक्रमित रहेको उनले जानकारी दिए।

जापानिज इन्सेफ्लाइटिस के हो?

जापानिज इन्सेफ्लाइटिस (जेई) लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यसले मुख्यतः मस्तिष्कमा असर गर्ने भएकाले संक्रमण गम्भीर हुन सक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले बताए।

‘यो जनावर र लामखुट्टेबीचको रोग हो। संक्रमित लामखुट्टेले टोकेपछि भाइरस शरीरमा प्रवेश गर्छ र मस्तिष्कमा गम्भीर समस्या ल्याउन सक्छ,’ उनले भने।

जेई मानिसबाट मानिसमा भने नसर्ने कुँवरले बताए। संक्रमित सबै व्यक्तिमा लक्षण नदेखिने भए पनि लक्षण देखिएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने, कम्पन हुने तथा घाँटीमा असहजता हुनेजस्ता समस्या देखिन सक्ने उनले बताए।

रोगबाट बच्न लामखुट्टे नियन्त्रण तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ। घरका झ्यालढोकामा जाली लगाउने, घरवरिपरि पानी जम्न नदिने तथा पूरा बाहुला भएका कपडा लगाउन कुँवरले सुझाव दिएका छन्।

सुँगुर, बंगुर, हाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी र लामखुट्टेबीचको संक्रमण चक्रसँग जेई सम्बन्धित हुने भएकाले यस्ता पशुपन्छी बस्ती तथा घरबाट केही टाढा व्यवस्थित रूपमा पाल्नुपर्ने उनले बताए।

जेईको शंका लागेमा नियन्त्रण तथा व्यवस्थापनको काम स्थानीय तहले गर्ने र संक्रमण भए/नभएको यकिन गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने कुँवरले जानकारी दिए।

कमेन्ट लोड गर्नुस