सडकपेटीमै बच्चा जन्मिएपछि अस्पतालका कर्मचारी हटाइए
राजविराज– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले घटनाबारे प्रश्न उठाएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले घटनालाई गम्भीर रूपमा लिएको जानकारी दिइन्। उनका अनुसार घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको छ भने उनीहरूमाथि छानबिन भइरहेको छ।
घटनाको स्थलगत छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा। सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा। अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको छ। टोलीमा स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा। पवनजङ्ग रायमाझी पनि सहभागी छन्।
त्यस्तै, घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको मन्त्री मेहताले संसद्लाई जानकारी दिइन्।
मन्त्रालयले घटनालगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले मन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान करिब २ बजे ३० वर्षीया बबिताकुमारी पासवान प्रसूति व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्।
प्रारम्भिक जाँचपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको अस्पतालको विवरणमा उल्लेख छ। आवश्यक जाँचका लागि पुरानो स्वास्थ्यसम्बन्धी रिपोर्ट नभएकाले केही अति आवश्यक परीक्षण गर्न स्वास्थ्यकर्मीले सुझाव दिएको अस्पतालको दाबी छ।
तर, त्यसपछि बिरामी र उनका कुरुवा शय्यामा नरही अस्पतालबाट बाहिरिएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर सडकपेटीमै प्रसूति भएको जानकारी प्राप्त भएको मन्त्री मेहताले संसद्मा बताइन्।
प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको थियो। ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटेर आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरे पनि उनीहरू अस्पतालबाट बाहिरिएको अस्पतालको दाबी छ।
तर, अस्पताल परिसरबाहिरै महिला प्रसूति हुन पुगेको घटनाले अस्पतालमा बिरामीको व्यवस्थापन, स्वास्थ्यकर्मीको जिम्मेवारी र आकस्मिक प्रसूति सेवामाथि गम्भीर प्रश्न उठाएको छ।
मन्त्री मेहताले मातृ तथा नवजात शिशुको जीवन रक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको बताइन्। छानबिनबाट दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन मन्त्रालयले अस्पताललाई कडा रूपमा सचेत गराइसकेको र अस्पताल प्रशासनले समेत कमजोरी नदोहोर्याउने प्रतिबद्धता जनाएको मन्त्री मेहताले बताइन्।