बर्दगोरिया गाउँपालिकाले शुद्ध खानेपानी सेवा एक वर्षसम्म निःशुल्क गर्ने
कैलालीः कैलालीको बर्दगोरिया गाउँपालिकाले शुद्ध खानेपानी सेवा निःशुल्क गर्ने भएको छ ।
गाउँपालिकाले वडा नम्बर ३ मा निर्माण पूरा गरेको रानीकुण्डा खानेपानी आयोजना उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले आयोजनाबाट सेवा लिने उपभोक्तालाई एक वर्षसम्म खानेपानी निःशुल्क उपलब्ध गराइने घोषणा गरेका हुन्।
अध्यक्ष कुँवरले एक वर्षपछि पनि उपभोक्तालाई निश्चित युनिटसम्म खानेपानी महसुलमा छुट दिने विषयमा सङ्घीय तथा प्रदेश सरकार र विश्व बैङ्कसँग समन्वय तथा छलफल भइरहेको बताए। उनले भने, “हामीले यस आयोजना अन्तर्गतका जनतालाई एक वर्षसम्म निःशुल्क खानेपानी दिने छौँ ।
त्यसपछि पनि जनतालाई कति छुट दिन सकिन्छ भन्ने विषयमा सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा विश्व बैङ्कसँग समन्वय र छलफल गरिरहेका छौँ ।” अन्यत्र जस्तो खानेपानीको धारा जडान गर्न ठुलो रकम तिर्नुपर्ने र मासिक रूपमा महँगो महसुल बुझाउनुपर्ने बाध्यता आफ्नो पालिकामा नरहेको उनले बताए।
स्थानीय तह निर्वाचन, २०७९ मा अध्यक्ष कुँवरले गरेका प्रतिबद्धता क्रमशः कार्यान्वयन हुँदै गएको भन्दै स्थानीयवासीमा उत्साह बढेको छ । गाउँपालिकाले निःशुल्क शिक्षा, घरआँगनमै स्तरीय स्वास्थ्यसेवा, कलेज सञ्चालन, शव चिस्यान सेवा, काजकिरिया खर्च व्यवस्थापन तथा पोस्टमार्टम सेवा सञ्चालन गरिरहेको छ ।
रानीकुण्डा खानेपानी आयोजनाका अध्यक्ष टङ्क ओलीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको देख्दा आफूहरू उत्साहित भएको बताए।