सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ आइतबार ४ सय रुपैयाँले घट्यो

२०७६ भदौ २९, ०५:०६ खबर संवाददाता

सुनको मुल्य पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ। आइतबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। संघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोल ७० हजार ३०० रुपैयाँमा कारोवार भएको थियो। पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ। सुन भदौ २६ र २७ गते प्रतितोला दुई–दुई सय रुपैयाँले घटेको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ। 

नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ८७० रुपैयाँमा खरिद–बिक्री भएको थियो। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ।

आइतबार विश्वबजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ४९० दशमलव ५५ अमेरिकी डलरमा झरेको छ। यसअघि सुनको मूल्य प्रतिऔँस एक हजार ५ सय ४० अमेरिकी डलरसम्म पुगेको थियो।

कमेन्ट लोड गर्नुस