सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगास प्रावीमा प्रअ र व्यवस्थापन समितिको मनपरी

२०७६ भदौ २९, १२:५८ खबर संवाददाता

बैतडीको सिगास प्राथमिकत विद्यालयमा प्रधानाध्याक र विद्यालय व्यवस्थापन समितिले मनपरी गर्दै आएको आरोप लागेको छ। विद्यालयका प्रधानाध्यापक महेन्द्र बहादुर चन्दले विगत एक वर्षदेखि खेताला शिक्षकको जिम्मा विद्यालय दिएर मनपरी गरिरहेको आरोप लागेको हो। विद्यालय व्यवस्थापन समितिले नै निर्णय गरेर प्रअ चन्दले पाउँने तलबबाट १२ हजार पाउने गरी स्थानीय गणेश धामीलाई सट्टाभर्ना गरेको पाईएको छ।

खेताला शिक्षक राखेर प्रअ चन्द एक वर्षदेखि विद्यालय समेत नआउने गरेको स्थानीयको आरोप छ। विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका देवसिह धामीले प्रअ र व्यवस्थापन समितिको मनपरीले विद्यालयको विजोग भएको बताए। धामीले चार वर्ष पहिले निर्माण गरिएको विद्यालय भवनमा झ्याल ढोका समेत नै नलगाएर भुक्तानी दिएकोमा भत्कीएर नाजुक भएको बताए।

उनले प्रअ चन्दले शिक्षण गर्न नसक्ने भन्दै खेताला शिक्षक राखेर विद्यालयको विकासमा कुनै चासो नै नदिएको बताउँदै खबरदारी गर्दा समिति र अन्य स्थानीय मिलेर दबाब हाल्दै आफूअनुकुल निर्णय गर्दै आएको आरोप समेत लगाएका छन्। धामीले विद्यालयलाई दुई आना जग्गा समेत दान गरेका थिए।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभान धामीले विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी प्रअ चन्दको ठाउँमा स्थानीय गणेश धामीलाई सट्टाभर्ना गरिएको स्वीकार गर्दै आफूहरुले भनेको कुरा शिक्षकले अटेरी गर्दै आएको दावी गरे। उनले आफ्नो सोझोपन र असाक्षरताको फाईदा उठाउदै मनोमानी भएको भन्दै  विद्यालयको अवस्था समेत डामाडोल भएको बताए।

उनले विद्यालय भवन भत्कीएको कुरा स्वीकार गरे तर गाउँपालिकामा धाउँदा समेत कुनै सुनवाई नभएको जिकिर गरे। तर विद्यालय रहेको वडा नम्बर ९ का अध्यक्ष लक्ष्मी चन्दले  भने विद्यालयको समस्या समाधान गर्न आफू तत्पर रहेको दावी गरिन्। चन्दले प्रअ चन्दलाई खेताला शिक्षक नराख्न आग्रह गर्दा समेत अटेरी गरिएको दावी गर्दै अन्य भौतिक संरचना निर्माण र सुधारका लागि पहल भईरहेको बताईन्।

२०४९ सालमा स्थापना भएको सिगास प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाई हुने गरेकोमा अहिले ३ कक्षा सम्म मात्र पढाई हुदै आएको छ। विद्यालयमा प्रधानाध्यापक चन्द सहितका राहात कोटा र नीजि स्रातको समेत गरी तीन जना शिक्षक कार्यरत रहेका छन्। ३५ बालबालिका अध्ययन गर्ने उक्त वद्यालयमा राजनीतिक हस्तक्षेप बढेपछि विजोग भएको स्थानीयको भनाई रहेको छ। तर सिगास गाउँपालिका कार्यालय र शिक्षा समन्वय ईकाई बैतडीले पनि विद्यालय सुधारका लागि पहल नै नगरेको पाईएको छ।

कमेन्ट लोड गर्नुस