सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने तीन कर्मचारी सहित पाँचजना पक्राउ

२०७६ भदौ २९, १२:२६ प्रकाश सिंह

बाजुरमा डिउटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने पाँचजना पक्राउ परेका छन्। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ८ मा लागेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाजुराका निमित्त प्रमुख प्रहरी निरिक्षक जनक ढुंगानाले सुरक्षार्थ खटिएका प्रहरीमाथि मदिरा सेवन गरी हातपात गर्ने पाँचजनालाई पक्राउ गरिएको जानकारी दिए।

मदिरा सेवन गरी मेला बिथोल्ने, होहल्ला गरी प्रहरीमाथि हातपात गर्ने राष्ट्रिय वाणिज्य बैँकमा कार्यरत अमृत्त बोहरा र केशव गिरी, सरकारी वकिल कार्यलयका कार्यालय सहयोगी हरिशंकर जोशी, बडिमालिका नगरपालिका ८ का गोरख थापा र मेरिस्टोप सेन्टरमा कार्यरत अनमि धनी थापालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक ढुंगानाले बताए।

उनीहरुले हातपात गर्दा सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्द सहितका केही प्रहरी घाईते भएको बताईएको छ। घाईते प्रहरी सहायक निरिक्षकको घाँटीमा चोट लागेको र बाजुरामा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको छ भने पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस