सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामुदायिक विकास केन्द्र डोटीले भोटेकोसी बाढीपीडितका लागि ६२ हजार ६०३ रुपैयाँ सहयोग

२०८३ भदौ १८, ०३:०२ खबर संवाददाता

डोटी: रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले आर्थिक सहयोग गरेको छ।

सिडिसी डोटीको कार्यसमितिका पदाधिकारी तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको ६२ हजार ६०३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

सिडिसी डोटीले बाढीका कारण ठूलो जनधनको क्षति तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै बाढीबाट प्रभावित तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभ र सामान्य जनजीवनमा फर्कन सक्ने अवस्थाको कामना गरेको छ।

संस्थाले संकलित सहयोग रकम बाढीपीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा प्रभावकारी र पारदर्शी रूपमा सदुपयोग गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ।

सिडिसी डोटीले राष्ट्रिय विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग, सहकार्य र सेवाको भावनालाई थप मजबुत बनाउन सबै संघसंस्था, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार तथा आम नागरिकलाई सहयोगका लागि आह्वान गरेको छ।

कमेन्ट लोड गर्नुस