सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनज्योति आधारभूत विद्यालयका विद्यार्थीको अनुकरणीय सहयोग

२०८३ भदौ १५, ०१:०१ खबर संवाददाता

धनगढी: डडेल्धुराको परशुराम नगरपालिका–३ स्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्च तथा बचतबाट जम्मा गरेको रकम बाढीपहिरो प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन्।

विद्यालयका ३३ जना बालबालिकाले एक हजार ६१२ रुपैयाँ संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

सानै उमेरमा सामाजिक तथा राष्ट्रिय जिम्मेवारीबोध प्रस्तुत गर्दै विद्यार्थीहरूले आफ्नो व्यक्तिगत खर्चबाट रकम बचत गरी विपद्मा परेका नागरिकका लागि सहयोग गरेका हुन्।

विद्यार्थीहरूको यस कार्यले बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता, मानवीय संवेदना र सहयोगको भावना उजागर गरेको छ। विद्यालयका विद्यार्थीले गरेको यो सहयोगले विपद्को समयमा सानो योगदानले पनि ठूलो अर्थ राख्ने सन्देश दिएको छ।

विद्यार्थीहरूको अनुकरणीय सहयोगलाई स्थानीयस्तरमा समेत प्रशंसनीय कार्यका रूपमा लिइएको छ।

कमेन्ट लोड गर्नुस