सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीयमा बढ्यो खुसी

२०८३ भदौ १४, ०३:११ खबर संवाददाता

डोटी: बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरका विभिन्न बस्तीमा राष्ट्रिय विद्युत् सेवा सुचारु भएको छ। सिमचौरअन्तर्गत छिडिखानदेखि घाराहाल्ना, खाल्टी र पान्सासम्म राष्ट्रिय प्रसारण लाइन पुगेपछि स्थानीयका घरमा विद्युत् बलेको हो।

डोटी वितरण केन्द्र दिपायलअन्तर्गत तिखातर सबस्टेसनबाट बोगटान फिडरमार्फत उक्त क्षेत्रमा विद्युत् लाइन चार्ज गरिएको हो। विद्युत् सेवा सञ्चालनमा आएपछि लामो समयदेखि विद्युत्को प्रतीक्षामा रहेका स्थानीय बासिन्दामा खुसी छाएको छ। हाल पहिलो चरणमा वडा नं. १ का करिब ५६ घरधुरीमा विद्युत् सेवा पुगेको वडा अध्यक्ष खेम घर्ती मगरले जानकारी दिएका छन्।

विद्युत् लाइन सञ्चालन भएसँगै स्थानीयको दैनिक जीवन सहज हुनुका साथै सञ्चार, शिक्षा, व्यवसाय तथा अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। ग्रामीण क्षेत्रमा राष्ट्रिय विद्युत् पहुँच विस्तार हुनु स्थानीय विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

यसैबीच, डोटी वितरण केन्द्र दिपायलले विद्युत् लाइन चार्ज भइसकेकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ। विद्युत्का पोल तथा स्टेक नछुन र पोलमा आगो फुट्ने, झिल्का उठ्ने वा अन्य कुनै समस्या देखिएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न अनुरोध गरिएको छ।

विद्युत् सम्बन्धी समस्या देखिएमा तिखातर सबस्टेसन ९८६१९७४७५५, मानबहादुर साउद ९८६८४०३७९७ वा वडा अध्यक्ष खेम घर्ती मगर ९८४८६४२०२४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

राष्ट्रिय विद्युत् लाइन गाउँसम्म पुर्‍याउन सहयोग गर्ने नेपाल विद्युत् प्राधिकरण, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण सहयोगीप्रति स्थानीयवासीले धन्यवाद व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस