रसुवा बाढीपीडितका लागि कैलाली अस्पतालका अध्यक्ष जोशीद्वारा आर्थिक सहयोग
धनगढीः रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धनगढीस्थित कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिका–२ निवासी जोशीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरेका हुन्। उनले लायन्स क्लब ३२५ एनमार्फत उक्त रकम सहयोग गरेका हुन्।
यसअघि अध्यक्ष जोशीले कैलाली अस्पतालका तर्फबाट पनि बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरिसकेका छन्।
बाढीबाट प्रभावित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा थप सहयोग गरिएको जोशीले बताएका छन्। विपद्को यस कठिन घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आफूले सहयोग गरेको उनले बताए।
जोशीले विपद्का बेला पीडितको राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सक्दो सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।