सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवा बाढी: बाजुराका १७ जना सम्पर्कविहीन

२०८३ भदौ ११, ०२:५२ रासस

बाजुरा: रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको भीषण बाढीपछि बाजुराका विभिन्न स्थानीय तहका १७ जना सम्पर्कविहीन भएका छन्। रोजगारी तथा कामको सिलसिलामा टिमुरे क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा नआएपछि आफन्तजन चिन्तित बनेका छन्।

सम्पर्कविहीन हुनेमा हिमाली गाउँपालिकाका ११ जना, स्वामीकार्तिक खापर गाउँपालिका–४ का ३ जना, स्वामीकार्तिक खापर–३ का २ जना र जगन्नाथ गाउँपालिका–६ का १ जना रहेका छन्।

हिमाली गाउँपालिकाबाट शेरसिंह रोकाया , दीपक रोकाया विष्णुमती रोकाया , आरामा नेपाली , उजना दमाई , महनलाल रोकाया, विक्रम भण्डारी , नेपाली सेनामा कार्यरत दिपे सार्की, वीरेन्द्रप्रसाद जोशी, सत्या जोशी र बीसी पाण्डे सम्पर्कविहीन रहेका छन्।

त्यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका–४ का मनऋषि सञ्ज्याल, मनकला सञ्ज्याल र सुस्मिता जोशी तथा वडा नम्बर ३ का वीरेन्द्र जैशी र सत्यादेवी जैशी सम्पर्कविहीन छन्। जगन्नाथ गाउँपालिका–६ का मुकेश दमाई पनि बाढीपछि परिवारको सम्पर्कमा आएका छैनन्।

परिवारका अनुसार बाढी आएको लामो समय बितिसक्दा पनि उनीहरूको अवस्था अज्ञात छ। आफन्तजनले उहाँहरूको खोजी तथा उद्धारमा सहयोग गरिदिन आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस