सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व प्रहरी हवल्दार भट्टले फेला पारेको ५० हजार रुपैयाँ सम्बन्धित महिलालाई बुझाए

२०८३ भदौ ७, १२:१६ खबर संवाददाता

धनगढी: अटोबाट खसेको ५० हजार रुपैयाँ नगदसहितको पर्स फेला पारेर पूर्व प्रहरी हवल्दार पुष्कर दत्त भट्टले सम्बन्धित महिलालाई फिर्ता गरेका छन्।

दार्चुला घर भई हाल गोदावरी नगरपालिका–२, तेघरीमा बस्दै आएका नेपाल प्रहरीका पूर्व हवल्दार भट्टले अत्तरिया चौराहाबाट महेन्द्रनगर रोडतर्फ जाँदै गरेको अटोबाट खसेको पर्स फेला पारेका हुन्।

बजारबाट घरतर्फ जाँदै गरेकी राजमती भट्टको पर्स अटोबाट खसेको थियो। पर्स फेला पारेपछि पुष्कर दत्त भट्टले तत्काल इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महरालाई बुझाएका थिए।

डिएसपी महराका अनुसार पर्समा ५० हजार रुपैयाँ नगद, नागरिकता तथा श्रृंगारका सामग्रीलगायत महत्वपूर्ण सामान रहेका थिए।

पर्स हराएको थाहा पाएपछि राजमती भट्टले इलाका प्रहरी कार्यालय मालाखेती पुगेर आफ्नो पर्स, नगद रकम तथा महत्वपूर्ण कागजात हराएको जानकारी गराएकी थिइन्। उनले जानकारी गराएको केही घण्टामै पूर्व प्रहरी हवल्दार भट्टले पर्स फेला पारेर प्रहरी कार्यालयमा बुझाएका थिए।

पर्स भेटिएको जानकारी पाएपछि डिएसपी महराले राजमतीलाई कार्यालयमा बोलाएर पूर्व प्रहरी हवल्दार भट्टकै हातबाट पर्ससहितको सामान फिर्ता गर्न लगाएका थिए। भट्टले आफ्नै हातबाट राजमतीलाई ५० हजार रुपैयाँ नगद, नागरिकता तथा अन्य सामानसहितको पर्स बुझाएका हुन्।

हराएको ठूलो रकमसहित महत्वपूर्ण कागजात सुरक्षित रूपमा प्रहरी कार्यालयमा बुझाएर सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न पहल गरेका भट्टको इमान्दारिताको स्थानीयस्तरमा प्रशंसा भएको छ।

पर्स फिर्ता पाएपछि राजमती भट्टले पूर्व प्रहरी हवल्दार पुष्करदत्त भट्टलाई धन्यवाद दिँदै नगद पुरस्कारसमेत प्रदान गरेकी छन्। हराएको पर्स, रकम तथा महत्वपूर्ण कागजात सुरक्षित रूपमा फिर्ता पाउँदा आफू खुसी भएको उनले बताइन्।

पूर्व प्रहरी हवल्दार भट्टले देखाएको इमान्दारिता र जिम्मेवारीले हराएको सामान फेला पर्दा त्यसलाई सम्बन्धित व्यक्तिसम्म सुरक्षित रूपमा पुर्‍याउनुपर्ने सकारात्मक सन्देश दिएको छ।

कमेन्ट लोड गर्नुस