सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री भट्टद्वारा स्थानीय तहका प्रमुखहरुसँग छलफल

२०८३ भदौ ७, ०७:०३ रासस

सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा स्थानीय तहका प्रमुखहरूसँग छलफल सुरु गरेका छन्। सत्तासमीकरणमा आएको फेरबदलका कारण यहाँ ‘बजेट होलिड’ को अवस्था रहेको छ। 

मुख्यमन्त्री भट्टले अब चाँडै बजेट निर्माण गर्नुपर्ने दबाबका बीच स्थानीय तहका प्रमुखहरुसँग छलफल थालेका हुन्। त्यस क्रममा शनिवार  धनगढीमा दार्चुलाका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुसँग बजेट तथा विकास निर्माणका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ। छलफलमा प्रदेश र स्थानीय तहबीचको समन्वय, बजेटका प्राथमिकता, विकास आयोजना, स्वास्थ्य सेवा सुधार, सुशासन तथा योजना कार्यान्वयनका विषयमा छलफल भएको थियो।

मुख्यमन्त्री भट्टले विकास निर्माणका नाममा टुक्रे तथा स्वार्थकेन्द्रित योजना बनाउने प्रवृत्ति अन्त्य गर्दै नीति, विधि, पद्धति र प्रणालीअनुसार योजना छनोट तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले प्रदेशका गौरवका आयोजना, बहुवर्षीय योजना तथा दीर्घकालीन महत्वका सडक र पूर्वाधार, महाकाली करिडोरसँग जोडिएका आयोजना तथा बहुवर्षीय सडकलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए। 
“स्थानीय तहको सिफारिस र आवश्यकताका आधारमा योजना छनोट गर्ने र प्रदेशबाट विनियोजन भएका योजनाको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहले ध्यान दिएमा प्रतिफल दिन सजिलो हुन्छ। प्रदेशको आफ्नै आर्थिक स्रोत वृद्धि गर्दै विकासलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता छ। यसमा सबै मिलेर काम गरौँ”, उनले भने।

मुख्यमन्त्री भट्टले विकास निर्माणमा हुने आर्थिक अनियमितता र बिचौलियाको अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले स्वास्थ्य क्षेत्र प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहकाले जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी स्वास्थ्य सेवामा सुधारका लागि सहयोग गर्न आग्रह गरे। दार्चुलाको गोकुलेश्वर अस्पतालको सेवा सुधार गरी आवश्यकताअनुसार प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्न पहल गरिने मुख्यमन्त्री भट्टको भनाइ थियो।

छलफलमा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामी, शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी, व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी, दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीलगायत स्थानीय तहका प्रमुखहरूको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस