सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाराको सिमरामा ३ वर्षीय बालिकामाथि भएको घटनाप्रति मानव अधिकार रक्षक सञ्जाल कैलालीको गम्भीर ध्यानाकर्षण

२०८३ भदौ ६, ०६:४८ लक्ष्मण ढुङ्गाल

धनगढी — बाराको सिमरामा तीन वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाप्रति महिला मानव अधिकार रक्षक सञ्जाल कैलालीले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सञ्जालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बालिकामाथि भएको घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक अनुसन्धान गरी दोषी पहिचान  गर्न तथा कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको हो।

प्रेस विज्ञप्तिअनुसार बाजुरामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि जघन्य अपराध भएको र उनको शव घर नजिकै लामो समयदेखि खाली रहेको घरमा फेला परेको घटनाले सञ्जाललाई गम्भीर बनाएको जनाएको छ। यस्तो घटनाले बालबालिकाको सुरक्षा, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र राज्यको दायित्वमाथि गम्भीर प्रश्न खडा गरेको सञ्जालको भनाइ छ।

बालिकामाथि हुने यौन हिंसा, बलात्कार, बलात्कारपछि हत्या तथा दण्डहीनताको संस्कृतिले सामाजिक तथा संस्थागत संरचनामा गम्भीर कमजोरी रहेको देखाउने सञ्जालले जनाएको छ। बालबालिकाको जोखिम पहिचान, सुरक्षा र तत्काल खोजी तथा हिंसाका घटनामा शीघ्र न्यायिक प्रतिकार्य सुनिश्चित गर्न राज्यका संयन्त्र प्रभावकारी हुनुपर्ने माग गरिएको छ।

सञ्जालले घटनालाई कुनै एक व्यक्तिको आपराधिक मनोवृत्तिका रूपमा मात्र नहेरी बालिकामाथि हुने हिंसा र दण्डहीनताको सामाजिक तथा संस्थागत पक्षको समेत गम्भीर समीक्षा गर्न सरकारसँग आग्रह गरेको छ।

घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दै सञ्जालले घटनास्थल तथा उपलब्ध प्रमाणहरूको वैज्ञानिक परीक्षण र प्रमाणमा आधारित अनुसन्धान सुनिश्चित गर्न आग्रह गरेको छ। अनुसन्धान प्रक्रियालाई कुनै पनि राजनीतिक, सामाजिक वा अन्य दबाबबाट मुक्त राखी पीडित परिवारले न्याय प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिइएको छ।

सञ्जालले शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै परिवारलाई आवश्यक मनोसामाजिक परामर्श, कानुनी सहायता, सुरक्षा तथा न्यायिक प्रक्रियामा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ। साथै पीडित परिवारको गोपनीयता र सम्मानमा असर नपर्ने गरी जिम्मेवार सञ्चारमाध्यम तथा आम नागरिकबाट सहयोग गर्न पनि अपिल गरिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस