भारतको उत्तर प्रदेशमा लगातार वर्षा, वाराणसीका सबै घाट डुबे
नयाँदिल्ली: भारतको उत्तर प्रदेशमा लगातार भइरहेको वर्षाका कारण गंगासहित ६ वटा नदीले खतरा तह पार गरेका छन्। नदीमा पानीको सतह बढेसँगै राज्यका १३ जिल्लामा बाढीको जोखिम बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
लखनउ, बाराबंकीसहित पाँच सहरमा शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। वाराणसीमा गंगाको जलस्तर बढेपछि सबै ८४ वटा घाट डुबानमा परेका छन्। मणिकर्णिका घाटमा छतमाथिबाट अन्त्येष्टि गर्नुपर्ने अवस्था आएको छ भने प्रसिद्ध दशाश्वमेध घाटमा हुने गंगा आरतीसमेत छतमै गराइएको छ।
यस्तै, दिल्लीमा शुक्रबार रातिदेखि भइरहेको वर्षाका कारण विभिन्न क्षेत्र जलमग्न भएका छन्। दिल्लीमा यस वर्ष अगस्ट महिनामा औसतभन्दा बढी वर्षा भइसकेको छ। सफदरजंग मौसम केन्द्रका अनुसार अगस्ट १ देखि २१ सम्म २३५.३ मिलिमिटर वर्षा मापन भएको छ, जबकि अगस्ट महिनाको सामान्य औसत वर्षा २३३.१ मिलिमिटर रहेको छ।
भारतीय मौसम विभागले दिल्लीमा सप्ताहन्तमा पनि वर्षा जारी रहन सक्ने जनाएको छ।
यता, मध्य प्रदेशमा तीनवटा मनसुनी प्रणाली सक्रिय रहेका कारण विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। रीवा–सीधी आसपास न्यूनचापीय क्षेत्र, उत्तरपूर्वी मध्य प्रदेशबाट मनसुनी न्यूनचापीय रेखा तथा दक्षिणपश्चिमी मध्य प्रदेशमा चक्रवाती परिसञ्चरण सक्रिय रहेको मौसम विभागले जनाएको छ।
यी प्रणालीको प्रभावले सिवनी र बालाघाटमा भारी वर्षाको सम्भावना रहेको छ भने मध्य प्रदेशका १४ जिल्लामा सतर्कता अपनाउन भनिएको छ।