सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा क्याथ ल्याब सेवा सुरू गर्ने तयारी

२०८३ भदौ ३, ०१:५९ नारायण अवस्थी

धनगढी: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल गेटामा क्याथ ल्याब सेवा सुरू गरिने भएको छ। मुटु तथा मस्तिष्कको जटिल उपचार गर्न क्याथ ल्याब सेवा सञ्चालनका लागि विश्वविद्यालयले प्रक्रिया अगाडि बढाएको जनाएको छ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशीले क्याथ ल्याब सेवा सञ्चालनका लागि २४ करोड बजेट छुट्याइएको बताए। "गेटामा अत्याधुनिक क्याथ ल्याब सेवा सञ्चालन गर्न विश्वविद्यालयको सिनेबाट निर्णय भएको छ। सिनेटबाट क्याथ ल्याबका लागि २४ करोड बजेटको व्यवस्थापन पनि भइसकेको छ," उनले भने, "शिक्षण अस्पतालमा क्याथ ल्याब सेवा सुरू गर्ने हाम्रो पहिलो प्राथमिकतामा परेको छ। एक हप्ताभित्रै खरिद प्रक्रिया अगाडि बढ्छ।"

सुदूरपश्चिमका सरकारी अस्पतालमा मुटु र मस्तिष्कको शल्यक्रिया गर्न आवश्यक पर्ने क्याथ ल्याब छैन। जसका कारण बिरामीले कि अकालमै ज्यान गुमाउनुपरेको छ भने कि त भारत लगेर महङ्गो उपचार गर्नुपर्ने बाध्यता छ।

गेटामा क्याथ ल्याब सेवा सुरू हुँदा बिरामीले ५० हजार भित्रै मुटु तथा मस्तिष्कको उपचार पाउने विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दले बताए। उनले सुदूरपश्चिममा अत्याधुनिक क्याथ ल्याब सञ्चालनमा ल्याउनु विश्वविद्यालयको पहिलो प्राथमिकताको काम रहेको स्पष्ट पारे। 

गेटामा अत्याधुनिक एआई इन्स्टल क्याथ लाब सेवा सञ्चालन हुने र त्यसले  मुटुसहित मस्तिष्कको समेत उपचार हुने उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशीले बताए।

उनले भने, एकैचोटि मस्तिष्क र मुटु खोल्ने अत्याधुनिक क्याथ ल्याब सेवा सञ्चालन गर्न खोजेका छौँ। खरिदको पहिलो प्राथमिकतामा रहेको कार्यक्रम भएकाले केही महिनाभित्रै गेटामा ल्याब सञ्चालनमा ल्याउन काम भइरहेको छ।"

गेटामा क्याथ ल्याब सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश सरकारबाट समेत आवश्यक सहयोग हुने विश्वविद्यालय जनाएको छ। यस्तै, धनगढी उपमहानगरपालिकाले पनि क्याथ ल्याबसहितका सेवा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने जनाएको छ। नगर प्रमुख गोपाल हमालले विश्वविद्यालयलाई उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका हुन्।

गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १७ बिधामा अध्ययन-अध्यापन गराइने छ। यो वर्ष भने चार कार्यक्रम सञ्चालन गर्ने तयारी थालिएको रजिस्ट्रार चन्दले दिनेशखबरसँग बताए।

रजिस्ट्रार चन्दका अनुसार गेटामा  पूर्वाधार र भवन बनिसकेको, क्लिनिकल कामको लागि ७७ जना फ्याकल्टी नियुक्त गर्ने काम भइरहेको छ।

यस्तै, बेसिक साइन्सको ल्याब खरिद गर्ने प्रक्रिया अगाडि बढाउने काम भएको छ भने शिक्षण अस्पतालमा ६११ शय्या व्यवस्थापन गरिनुको साथै, भदौ तेस्रो हप्ता चिकित्सा शिक्षा आयोगले निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस