नाइजेरियामा भएको झडपमा २० जनाको मृत्यु
जोस(नाइजेरिया), (रासस/एएफपी): मध्य नाइजेरियामा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको झडपमा २० जना भन्दा बढी मानिसको मृत्यु भएको शनिबार एक सांसद तथा अन्य स्रोतहरूले बताएका छन्।
बोर्गू सङ्घीय निर्वाचन क्षेत्रका सांसद जाफर मुहम्मदले झडपको पुष्टि गर्दै झडप नियन्त्रण गर्न सुरक्षा बल परिचालन गर्न माग गरेका छन्। मुहम्मदले झडपमा यस क्षेत्रका विभिन्न जातीय समूहहरूसमेत संलग्न रहेको बताए।
पछिल्लो झडपमा २० जनाभन्दा बढी मानिसहरुको मृत्यु भएको र यसको कारण स्थानीय मिलिसिया (सशस्त्र समूह) द्वारा गरिएको झडप रहेको उनले जनाएका छन्। उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन भारी हतियारसहितको सुरक्षा बलको आवश्यकता छ।
स्थानीय बासिन्दालाइ उदृत गर्दै एएफपीले उक्त लडाइँ फुलानी र काम्बारी समुदायबीच भएको जनाएको छ।
जिहादी समूहहरूले फुलानीहरूलाई आफ्नो समूहमा भर्ती गर्ने कार्यले सरकारी बल र मिलिसियाहरूबाट घातक प्रतिशोध निम्त्याएको छ, जसमा प्रायः फुलानी सर्वसाधारण नै पीडित हुने गरेको जनाइएको छ।
नाइजर राज्य मध्य र उत्तर–पश्चिम नाइजेरियाको ठुलो कृषि क्षेत्रमा अवस्थित छ। यो क्षेत्र वर्षौंदेखि गाईवस्तु चोर्ने र अपहरण गर्ने गिरोहहरूको आतङ्कको चपेटामा परेको छ; यी गिरोहहरूले समुदायमाथि आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र घरहरू लुट्ने गर्छन्।
हालैका वर्षहरूमा, देशको उत्तर–पूर्वमा १७ वर्षदेखि विद्रोह गरिरहेका जिहादी समूहहरूले नाइजर राज्यमा पनि आफ्नो उपस्थिति जनाएका छन् र प्रायः स्थानीय अपराधी गिरोहहरूसँग मिलेर हिसांत्मक गतिविधि गरिरहेका छन्।
गत मे महिनामा, सेनासँग मिलेर काम गर्ने एक मिलिसिया समूहले शुक्रबारको झडप भएको क्षेत्र नजिकै करिब ४० जना फुलानी गोठालाहरूको हत्या गरेको थियो। उनीहरूमाथि जिहादी समूह ’अन्सारु’ का लागि सुराकी गरेको आरोप लगाइएको थियो।
विशेषज्ञहरूका अनुसार, यस्ता प्रतिशोधपूर्ण कारबाहीका कारण कतिपय फुलानीहरू आफ्नो सुरक्षाका लागि जिहादी समूहहरूमा सामेल हुन बाध्य भएका छन्।