बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी
बैतडी: घरको भित्तामा लहरै मौरीका घार छन्। स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन्।
बैतडीको सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टका ५० घार मौरी छन्। पच्चीस वर्षदेखि मौरीपालन व्यवसायमा आबद्ध विष्टले वर्षमा दुई क्विन्टल मह उत्पादन गर्दै आएका छन्। स्थानीय बजार र जिल्लाबाहिर पनि मह बिक्री हुने गरेको छ। बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको विष्ट बताउछन्। “लामो समयदेखि मौरीपालन गरेको हुँ। व्यवसाय बढाउँदै यहाँसम्म ल्याइपुर्याएको छु। घार राख्ने ठाउँ नभएर सडक किनार र भिरपाखामा पनि राखेको छु”, विष्टले भने।
युवापुस्ता रोजगारीको खोजीमा विभिन्न मुलुकतिर गएका बेला विष्ट भने मौरीपालन व्यवसायमा रमाइ रहेका छन्। मह बेचेर नै उहाँले घरपरिवार धानिरहेका छन्। बजारको कुनै समस्या छैन। स्थानीय बजारमै १५ सय रूपैयाँ प्रतिकिलो मह बिक्री हुने गरेको छ। वर्षमा अढाइदेखि तीन लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए। “चैत–वैशाखको बीचमा एकपटक र कात्तिक–मङ्सिरमा दोस्रोपटक गरी दुईपटक मह निकाल्छु, एकपटक निकाल्दा एक क्विन्टल बढी हुन्छ”, उनले भने, “हालसम्म उत्पादन हुँदै आएको महले बजार पनि पाइरहेको छ।”
आम्दानीको राम्रो सम्भावना भए पनि परम्परागत तरिकाले मौरीपालन गरिरहेकाले मौरी जोगाउन निकै कठिन हुने गरेको छ। “आधुनिक घारहरू छैनन्”, उनले भने, “काठको परम्परागत घारहरूमा जङ्गली जनावर मलसाप्रो र वर्षात्को समयमा चिसोबाट पनि बचाउन सकस हुने गरेको छ ।”
पछिल्लो समयमा तरकारी खेतीमा प्रयोग हुने विषादीले चुनौती थपिएको विष्टले बताए। “मौरीहरू फुल फुलेको ठाउँमा पुग्छन् । तरकारीखेतीमा विषादीको प्रयोगले मौरी पनि मर्ने गरेका छन् ।”, उनले भने। उनी मौरीपालनसँगै बाख्रापालनमा पनि व्यस्त छन्।