धनगढीमा साउन ३० गते स्थानीय सार्वजनिक बिदा
धनगढीः धनगढी उपमहानगरपालिकाले राना थारु समुदायका महिलाले मनाउने तीज पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार यस वर्ष राना थारु समुदायका महिलाले मनाउने तीज पर्व साउन ३० गते परेकोले उक्त दिन एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा साउन ३० गते धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा संघ–संस्थामा स्थानीय सार्वजनिक बिदा लागू हुने उल्लेख गरिएको छ।
हरेक वर्ष श्रावण शुक्ल तृतीयाका दिन राना थारु समुदायका महिलाले तीज पर्व मनाउँदै आएका छन्। राना थारु समुदायको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको यस पर्वको संरक्षण तथा सम्मानका लागि उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।