कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
महेन्द्रनगरः कञ्चनपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलडाँडी गाउँपालिका–३ बन्पुरबाट लागूऔषधसहित शुक्लाफाँटा नगरपालिका–२ का २६ वर्षीय रोशन साउद र ३० वर्षीय उमु राम डगौरालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा लागूऔषध खैरो हेरोइन ३१ ग्राम १० मिलिग्राम बरामद भएको छ। साथै उनीहरूको साथबाट मोटरसाइकल एक थान समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। बरामद लागूऔषध तथा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।