बाजुरामा निषेधित क्षेत्रमा ड्रोन उडाउने व्यक्ति प्रहरी नियन्त्रणमा
बाजुराः बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडीस्थित नेपाली सेनाको ईश्वरी बक्स गुल्म थापाथली ब्यारेक नजिकै निषेधित क्षेत्रमा ड्रोन उडाएको आरोपमा एक जनाको ड्रोन प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ का २९ वर्षीय तिलक श्रेष्ठले मंगलबार बिहान करिब ११ बजे ब्यारेक नजिक ड्रोन उडाएका थिए।
ड्रोन उडाइएकोबारे नेपाली सेनाको ईश्वरी बक्स गुल्मबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक नरेशबहादुर शाहीको कमाण्डमा टोली खटिएको थियो।
प्रहरीले श्रेष्ठले निषेधित क्षेत्रमा ड्रोन उडाएको र ड्रोन उडाउन आवश्यक कागजातसमेत साथमा नरहेको जनाएको छ। प्रहरीले ड्रोन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।