सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको ऋण १० खर्ब ६६ अर्ब पुग्यो

२०७६ भदौ २५, ०५:४८ खबर संवाददाता

नेपाल सरकारको ऋण १०  खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। साउन महिनामा मात्रै सरकारले ३ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको वैदेशिक ऋण लिएको छ। साउन मसान्तसम्म सरकारले ६ खर्ब १३ अर्ब २२ करोड रुपैयाँ वैदेशिक ऋण तिर्न बाँकी छ भने आन्तरिकतर्फ ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ।

सरकारको तिर्न बाँकी आन्तरिक ऋण ४२ दशमलव ५ र वैदेशिक ऋण ५७ दशमलव ५ प्रतिशत रहेको छ। आन्तरिक ऋण नलिएको डलरको भाउ बढेकाले बाह्य ऋणको बोझ थपिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना अर्थात साउनमा २ अर्ब ६० करोड रुपैयाँ वैदेशिक अनुदार र २ अर्ब ५७ करोड वैदेशिक ऋण गरी ५ अर्ब १७ करोड रुपैयाँ शोधभर्ना रकम प्राप्त गरेको छ।

अर्थ मन्त्रालयका अनुसार २०७६ सालको असार मसान्तसम्म नेपाल सरकारको आन्तरिक तथा बाह्य ऋण अघिल्लो वर्षको तुलनामा १४ दशमलव ३ प्रतिशतले बढेर १० खर्ब ४७ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो।मन्त्रालयका अनुसार असार मसान्तसम्म सरकारको ऋण आन्तरिकतर्फ ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ र वैदेशिक ऋण ५ खर्ब ९३ अर्ब ८५ करोड रुपैँया रहेको थियो। गएको वर्ष सरकारले ९३ अर्ब २९ करोड रुपैयाँ वैदेशिक ऋण र ९६ अर्ब ३८ करोड रुपैयाँ आन्तरिक गरी कुल १ खर्ब ८९ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ।

यस्तै गएको वर्ष सरकारले ५४ अर्ब ३५ करोड रुपैयाँ ऋण तिरेको छ। सरकारले आन्तरिकतर्फ ३४ अर्ब ४ करोड र वैदेशिकतर्फ २० अर्ब ४ करोड रुपैयाँ ऋण तिरेको मन्त्रालयले जनाएको छ।

यस्तै गएको आर्थिक वर्षमा सरकारले ४४ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक अनुदान र ७८ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता पाएको थियो छ। अनुदान र ऋण गरी सरकारले गएको वर्ष १ खर्ब २२ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

यस्तै आर्थिक वर्ष २०७६÷७७ को पहिलो महिना अर्थात साउनमा वैदेशिक मानव स्रोत विकास छात्रवृत्ति अन्तर्गत पहिलो र दोस्रो चरणका लागि ६३ करोड ९९ लाख र विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि ३० करोड ५७ लाख गरी ९४ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक अनुदान प्रतिबद्धता प्राप्त गरेको छ।

 

कमेन्ट लोड गर्नुस