सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध, बसमा क्षति

२०८३ साउन २६, १०:१४ खबर संवाददाता

बाजुराः पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाखोलामा सडक अवरुद्ध भएको छ।

सोमवार दिउँसो करिब २ः३० बजे सडक माथिबाट पहिरोसँगै खसेको ढुङ्गाले सुर्खेतबाट हुम्लातर्फ जाँदै गरेको भे १ ख २८३१ नम्बरको बसको अगाडिको भागमा लाग्दा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बसमा चालकसहित सात जना सवार रहे पनि सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि प्रहरी चौकी जुड्डी बाजुराबाट प्रहरी टोली घटनास्थलमा पुगेर सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी सडक विभागको जेसीबी प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ।

निरन्तर वर्षाका कारण सडक माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। उक्त स्थान जोखिमपूर्ण रहेकाले कर्णाली करिडोर हुँदै आवतजावत गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

सडक अवरोध नहटेसम्म धैर्य गरी सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस