कपिलवस्तुमा पेस्तोल सहित तीन जना पक्राउ
कपिलवस्तुः कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ गरिएको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जका स्थानीयलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने जानकारी प्राप्त भएपछि उनीहरूको खोजी गर्ने क्रममा विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका–५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
उनीहरूको साथबाट पेस्तोल एक थान र लु ६१ प ७०७२ नम्बरको १२५ सिसीको मोटरसाइकल समेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।