सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा सुरु हुने

तस्विरः अनुराग पन्त
तस्विरः अनुराग पन्त
२०८३ साउन २४, १२:२३ खबर संवाददाता

बाजुराः सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा पूजा सुरु हुने भएको छ।

बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार मुख्य पूजा भदौ ११ गते हुने भए पनि एकै दिन अत्यधिक भीड हुने भएकाले दर्शनार्थीको सहजताका लागि भदौ १ गतेदेखि नै पूजा सुरु गर्न लागिएको हो।

बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा गर्ने परम्परा छ। मुख्य पूजाका अतिरिक्त अन्य समयमा पनि तीर्थालु तथा पर्यटक पुग्ने गरेका छन्।

गत वर्ष करिब ४५ हजारभन्दा बढी भक्तजनले बडीमालिकाको दर्शन गरेका थिए। यस वर्ष पनि देशका विभिन्न जिल्लासहित छिमेकी भारतबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने अपेक्षा गरिएको छ। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली बडीमालिका जाने परम्परा छ।

पछिल्लो समय बडीमालिकाको धार्मिक तथा पर्यटकीय महत्वबारे प्रचारप्रसार बढेसँगै यहाँ पुग्ने पर्यटकको संख्या पनि बढ्दै गएको स्थानीय बताउँछन्। नेपाली सेनाले करिब दुई करोड रुपैयाँको लागतमा प्यागोडा शैलीमा निर्माण गरेको नयाँ बडीमालिका मन्दिरले पनि क्षेत्रको आकर्षण थप बढाएको छ।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काका अनुसार बडीमालिका क्षेत्रमा फोन नेटवर्कको समस्या समाधान गर्न यस वर्षको मेला अगावै टेलिकम टावर राख्ने काम भइरहेको छ। उनले टावर निर्माणको काम भइरहेको बताउँदै निरन्तर वर्षा भइरहेकाले काम गर्न केही समस्या भएको बताए। यो वर्ष करिब ४५ हजार भक्तजनले बडीमालिका दर्शन गर्ने अनुमान रहेको मेयर खड्काले  बताए

समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका लागि समेत प्रसिद्ध छ। त्रिवेणी, २२ पाटन, खेतीबेती, विष्णुपानी र धर्मद्वार यहाँका प्रमुख आकर्षण हुन्।

हराभरा पाटन, हिमालका मनोरम दृश्य तथा डाँफे, मुनाल, कस्तुरीलगायत दुर्लभ वन्यजन्तुका कारण बडिमालिका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।

धार्मिक विश्वासअनुसार बडीमालिका माताको दर्शन गरेमा मनोकामना पूरा हुने, रोग निको हुने तथा पुत्र प्राप्ति हुने जनविश्वास छ। मेलालाई लक्षित गरी नेपाली सेनाले दर्शनार्थी तथा पर्यटकका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस