८ बर्ष सम्म बिजुली नबलेपछि कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

खवर संवाददाता
२०७६ भदौ २५, ०१:४६
अ+

रकम संकलन गरेको ८बर्ष सम्म बिजुली नबलेपछि कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। स्थानीयले घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थामा तालाबन्दी गर्दै अहिले राजमार्ग अवरुद्ध पारेका हुन्। घोडाघोडी नगरपालिका वडा नम्वर ४ र ५ का स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्। 

जिल्लाको घोडाघोडी नगरपालिकाका ४ वटा वडा, गौरीगंगा नगरपालिकाको एउटा र कैलारी गाउँपालिकाको एउटा वडाका वासिन्दाले रकम संकलन गरेर बुझाएको ८ बर्ष सम्म पनि बिजुली बाल्न पाएका छैनन्। विजुली बल्ने सपना देखाउँदै २०६८ र २०६९ सालमा घोडाघोडी विद्युत सहकारीले स्थानीयबाट रकम संकलन गरेको थियो। तर अहिले सम्म विद्युतीकरणको कार्य समेत सकिएको छैन्।

विद्युतीकरणमा भएको ढिलाईका कारण घोडाघोडी नगरपालिकाका वडा नम्बर  ४, ५, ७ र ९ गौरीगंगा नगरपालिकाको ११ नम्बर वडा र कैलारी गाउँपालिकाको ८ नम्बर वडाका वासिन्दाहरु अझै अन्धकारमा छन्। २०६९ सालमा प्रति परिवार एक हजार पाँच सय रुपैयाँका दरले रकम उठाईएको थियो। विद्युतीकरणका लागि पनि ठेक्का सम्झौता भएको पाँच वर्ष भएको छ तर काम पूर्ण भएको छैन्।