नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवमा वृक्षरोपण कार्यक्रम सम्पन्न
धनगढी: नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेशमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशको आयोजनामा तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सहकार्यमा शुक्रबार आयोजित कार्यक्रममा संघकी सहसचिव (कार्यक्रम) वसन्ती सिंह पाण्डेको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ।
वृक्षरोपण कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशका पदाधिकारी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्ट, अन्य वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरू र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
नेपाल प्रहरी श्रीमती संघले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ।