धनगढीमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा
धनगढीः कैलालीको धनगढीमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ ।
दैनिक २२ टन फोहोर व्यवस्थापन गर्न सकिने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो । धनगढी उपमहानगरपालिका–७ स्थित पटेला सामुदायिक वनक्षेत्रको २२ हेक्टर जमिनमा यो केन्द्र निर्माण भइरहेको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको भौतिक प्रगति ९२ प्रतिशत पुगेको इन्जिनियर अशोक पाण्डेयले जानकारी दिए।
उनका अनुसार अब डेढ प्रतिशत जति तटबन्धन निर्माण, पाँच प्रतिशत ट्रस लगाउने र फोहोर बोक्ने गाडी खरिद बाँकी रहेको छ । बाँकी रहेको आठ प्रतिशत काम तीन महिनाभित्रै पूरा हुने उनले बताए।
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा बनिरहेको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि दुई हजार ६०३ रुख काटिएको थियो ।
चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले करिब ९६ करोड रुपियाँ लागतमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिरहेको छ । २०२४ अप्रिलमा ठेक्का भई फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु गरिएको थियो । २०२६ अप्रिलसम्म निर्माण समायवधि तोकिए पनि थप कामको भेरिएसन प्रमाणीकरण भएपछि छ महिना म्याद थप गरिएको छ । अक्टोबरसम्म निर्माण समायवधि रहेको इन्जिनियर पाण्डेले उल्लेख गरे।
फोहोरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगहीन (नकुहिने न बिक्री हुने) गरेर तीन तरिकाले फोहोर छुट्याएर व्यवस्थापन गरिने जनाइएको छ । दिसाजन्य फोहोरलाई छुट्टै रहेको सक्सेन मेसिनमा व्यवस्थापन गर्ने बताइएको छ । त्यसलाई ३० दिनसम्म त्यहाँ राखेर छुट्टिएको ठोसलाई मलका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ । दिसाजन्य फोहोर प्रत्येक दिन २८ घनमिटर व्यवस्थापन गर्न सकिने जानकारी दिइएको छ ।
यस्तै उपयोगहीन फोहोरलाई सेलमा व्यवस्थापन गर्दै प्रत्येक दिन निश्चित तह बनाउने र माटोले पुर्ने काम हुने जनाइएको छ । काम नलाग्ने फोहोर व्यवस्थापनका लागि छ वटा सेल निर्माण गरिएको छ ।
कुहिने, नकुहिने फोहोरमैला व्यवस्थापनबाट निस्केको तरल पदार्थलाई प्रशोधन गर्ने र जलीय जीवलाई असर नगर्ने बनाएर खुटिया नदीमा फाल्ने जनाइएको छ । बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी), केमिकल अक्सिजन डिमान्ड (सिओडी) र पिएच जाँच गरेर जलीय जीवलाई असर नगर्ने प्रमाणित गरेर मात्रै नदीमा तरल फालिने निर्माण कम्पनीको जिकिर छ । तरल प्रशोधनका लागि २८ घनमिटरको पोखरी निर्माण गरिएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्रका कारण दुर्गन्ध नहुने र आसपासका बस्तीलाई कुनै पनि असर नगर्ने जनाइएको छ । पाण्डेयका अनुसार यो फोहोरमैला व्यवस्थापन केन्द्रले ३० वर्षसम्म धान्ने छ । ३० वर्षसम्म फोहोरमैला व्यवस्थापन गर्दा त्यहाँ अग्लो डाँडा बन्ने जनाइएको छ । त्यसपछि उक्त स्थानमा वृक्षरोपण गरेर पुनः जङ्गल वा चिल्ड्रेन पार्क बनाउन सकिने इन्जिनियर पाण्डेयले बताए।
निर्माण कम्पनीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी तीन वर्षसम्म आफैँले सञ्चालन गरेर मात्रै धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ ।