सुदूर नेपाललाई विश्वसँग जोड्दै

घुस सहित पक्राउ परेका डोटीका वन अधिकृत सहित दुई जना बिरुद्ध आरोपपत्र दायर

२०७६ भदौ २४, ०४:०३ खबर संवाददाता

तीन लाख घुस सहित पक्राउ परेका डोटीका वन अधिकृत सहित दुई जना बिरुद्ध आरोपपत्र दायर गरिएको छ। लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय डोटीका प्रमुख सहायक वन अधिकृत सुरेश चन्द्र डिसी र बिचौलीया सुशन जोशी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो। 

डोटीबाट सरूवा भई डिभिजन वन कार्यालय कञ्चनपुर हाजिर हुन जाने क्रममा सेवाग्राहीको काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिए बापत उनले तीन लाख २६ हजार घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले घुस रकम सहित पक्राउ गरेको थियो। 

अनुसन्धानको क्रममा डिसीले काठको छुटपुर्जीको सिफारिस लगायत कागजी प्रक्रियामा सहज वातावरण मिलाई दिए बापत सेवाग्राहीसँग पाँच लाख ६० हजार माग गरेको समेत पुष्टि भएको छ। तर डिसीबाट तीन लाख २६ हजार मात्रै बरामद भएको थियो। 

जोशीले वन अधिकृत डिसीलाई घुस रकम दिन बिचौलीयाको भुमिका खेलेको समेत पुष्टि भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। उनीहरु विरुद्ध आवश्यक कारवाही र घुस रकम माग दावी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस